तीन महिनामा ओखलढुङ्गामा ८  सय करदाता बढे

ओखलढुङ्गा ।  ओखलढुङ्गामा करदाताको सङ्ख्या ह्वात्तै बढेको छ । 

विगतमा निकै कम करदाता भएको जिल्लाका रुपमा चिनिएको ओखलढुङ्गामा पछिल्लो तीन महिनामा करदाताको सङ्ख्या ह्वात्तै बढेको हो । 

बितेको आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महीनाको अवधिमा ८  सय करदाता बढेको आन्तरिक राजश्व कर कार्यालय लहानका कर अधिकृत पशुपति घिमिरेले बताए ।“कर कार्यालय लहान र ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घ दुवैबाट हामीले कर तिर्ने र व्यवसायीहरुलाई नयाँ प्यान नं जारी गर्ने व्यवस्था मिलाएका छौँ,” घिमिरेले भने । 

 “त्यसैले गर्दा ओखलढुङ्गामा करदाताको सङ्ख्या बढेको हो” उनले थपे । 

उनका अनुसार आर्थिक वर्ष २०७३/७४ मा एक हजार ४ सय सङ्ख्यामा रहेका करदाता गत आवमा भने उल्लेख्य थपिएका थिए । चालू आवकोे असोज मसान्तसम्म जिल्लाबाट राजश्व बुझाउने करदाता सङ्ख्या दुई हजार ३ सय पुगेको आन्तरिक राजश्व कार्यालय लहानले जनाएको छ । 

आन्तरिक राजश्व कर कार्यालय लहानसँगको सहकार्यमा ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले २०७१ सालबाट जिल्लाबाटै अस्थायी प्यान नम्बर जारी गरिरहेको छ । सङ्घको तथ्याङ्कअनुसार हालसम्म जिल्लाबाट अस्थायी प्यान नम्बर लिने व्यवसायीको सङ्ख्या ९ सय नाघेको छ ।

ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले जिल्लाबाटै कर तिर्ने व्यवस्था गरेपछि एक हजार ५ सयदेखि दुई हजार ५ सय कर तिर्नका लागि १० हजारसम्म खर्चेर लहान पुगेर कर तिर्ने अवस्थाको अन्त्य भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केको भनाइ छ । 

सङ्घले चालू आर्थिक वर्षबाट गाउँगाउँमा रहेका व्यवसायीलाई करको दायरामा ल्याउने अभियानसमेत थालेको छ । यो अभियानअन्तर्गत जिल्लाका स्थानीय तहसँग समन्वय गरी करदाता शिविर सञ्चालन गर्न थालिएको छ ।

गत असोजमा मात्रै जिल्लाका लिखु र खिजिदेम्बा गाउँपालिकाबाट ३ सय करदाता थपिएको सङ्घका कार्यालय सचिव नवराज दाहालले जानकारी दिए ।  सङ्घले तिहारपछि थप गाउँपालिकामा करदाता शिविर सञ्चालन गर्ने तयारी गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?