महिला टिमलाई वर्षौभरी खेल्ने वातावरण निर्माण गर्छौँ : इन्द्रमान तुलाधर

काठमाडौं । म्यानमारमा आयोजना हुने ओलम्पिक क्वालिफायर फुटबल च्याम्पियनसीपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला खेलाडीसहितको टोलीलाई बिदाई गरिएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवार एक कार्यक्रमको आयोजना गरि २६ खेलाडी सहितको टोलीलाई बिदाई गरिएको हो । खेलाडीहरु भोली ‘शुक्रवार’ चीन प्रस्थान गर्ने बताइएको छ । 

बिदाई कार्यक्रममा बोल्दै नेपाली टिमकी कप्तान निरु थापाले ओलम्पिक क्वालिफायरमा उत्कृष्ट खेल प्रर्दशन गर्ने बताइन् । 

‘आशा गरौँ हामीले उत्कृष्ट खेल खेल्दै जीत हात पारेर स्वदेश फर्किने छौँ’ उनले थपिन् । 

यता महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले लामो समयपछि खेल खेल्न पाउँदा खेलाडीहरुको मनोबल बढेको  बताए । 

‘महिला टिम लामो समयपछि खेल खेल्न चीन र म्यानमार जादैँछ, खेलाडीहरु सबै उत्साहित छन्, एन्फाले यसरी नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई निरन्तरता दिन सके नेपाल साफ राष्ट्रको पहिलो स्थानमा आउने पक्का छ, चीनमा हुने  तीन वटा मैत्रीपूर्ण खेलबाट केही हदसम्म भएपनि नेपाली टिमको कमि कमजोरी सुधार्ने मौका पाउनेछ’ उनले बताए । 

नेपालले आउदो सोमवार बेइजिङ महिला टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै, ३० तारिखमा बेजिङ स्पोर्टस युनिभर्सिटीसँग दोस्रो  तथा ३१ तारिखमा बेजिङ महिला टिमसँगै मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ ।

 त्यस्तै अखिल नेपाल फुटबल संघ ‘एन्फा’का महासचिव इन्द्रमान तुलाधरले नेपाली महिला टिमलाई वर्षौभरी खेल खेल्ने वातावरण निर्माण गर्ने जानकारी दिए । 

‘नेपाली टिमलाई अब प्रशिक्षणमा मात्र सिमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिप लगायतका खेलहरु खेल्ने वातावरणको श्रृजना गर्न एन्फा लागि परेको छ, म्यानमारमा हुने ओलम्पिक गेम्समा पनि नेपालले राम्रै खेल्छ भन्ने आशा लागेको छ, नेपालको मुख्य उद्देश्य भनेको साफ च्याम्पियनसीपको उपाधि जित्नु नै हो’ उनले बताए ।

चीनमा मैत्रीपूर्ण फुटबल खेलप्रश्चात नेपाली टिम त्यतैबाट म्यानमार प्रस्थान गर्ने पनि बताइएको छ । खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले लगायत खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरुले बिदाई गरेका थिए । 

नेपाल रहेको समूह र खेल तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?