वडास्तरमा एमाले र राप्रपाको संयुक्त निर्वाचन संयन्त्र

लोकपथ
0
Shares

नेपालगन्ज । बाँकेमा प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई जिताउन वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी बन्न थालेका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा तालमेलका उम्मेदवारहरुलाई विजयी गराउन नेकपा एमाले र राप्रपाको वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन भईसकेको र क्षेत्र नम्बर १ र ३ मा पनि गठन प्रक्रिया सुरु भएको नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले जानकारी दिए ।

बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित भएको बताउँदै उनले दुई पार्टीबीचको तालमेलले जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको दावी गरे।

आईतवार निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका २७ वटै वडाका अध्यक्ष, सचिव र इन्चार्जको संयुक्त बैठकले वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाका २१ र डुडुवा गाउँपालिकाका ६ वडा गरी २७ वटै वडामा नेकपा एमाले र राप्रपाको वडास्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन भएको हो ।

नेकपा एमाले र राप्रपाबीचको चुनावी तालमेलबाट उत्साहित भएका दुवै पार्टीका वडास्तरीय नेता तथा कार्यकर्ताले बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा र प्रदेश सभामा तालमेलका उम्मेदवारलाई जिताउने प्रण गरेका छन् ।

वडास्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्न आयोजित भेलालाई राप्रपाका केन्द्रीय महामन्त्री एवम बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर धवलशम्शेर राणा,नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् बाँके क्षेत्र नम्बर २ (ख) का उम्मेदवार निरक गुरुङ, क्षेत्र नम्बर २ (क) का उम्मेदवार बिजय यादव, एमाले निर्वाचन क्षेत्र नम्बर २ का संयोजक अशोक कर्माचार्य, एमाले नगर अध्यक्ष आचार्यलगायतले प्रशिक्षणसमेत दिएका थिए ।

बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नंम्बर २ प्रतिनिधि सभा उम्मेदवार डाक्टर धवलसम्शेर राणा र प्रदेशसभातर्फ बाँके क्षेत्र नम्बर १ (क) मा राप्रपाका उम्मेदवार नरेन्द्र पौडेललाई सघाउने भएको छ ।

अन्य निर्वाचन क्षेत्रमा राप्रपाले नेकपा एमालेका उम्मेदवारलाई सघाउनेगरी तालमेल भएको नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।

नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा केन्द्रीय सदस्य सूर्य ढकाल, प्रदेश (ख) मा दुर्गा थारु (सन्तोष), क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश (क) मा पार्टी सचिव रत्न खत्री र प्रदेश (ख) मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?