सङ्कटमा मादल व्यवसाय

लोकपथ
0
Shares

बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका छन् तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके ।

उनले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गरे । उनले भने, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।”

पहिले बाह्रै महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उनको भनाइ छ । उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । अहिले मादलको मूल्यसमेत घटेको दर्जीले बताए ।
दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । “तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ”, उनले भने ।

निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए ।
नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए । उनले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताए । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।

गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताए । उनले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?