च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाद्वारा इन्टर मिलान पराजित

एजेन्सी । जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत बार्सिलोना विजयी भएको छ । 

आफ्नो घरेलु मैदान क्याम्प नाउमा बुधवार राति सम्पन्न भएको  समूह ‘बी’को खेलमा स्पेनी क्लब बार्सिलोनाले  इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो । कप्तान लियोनेल मेस्सी बिना मैदानमा उत्रिएको बार्सिलोनाले इन्टर मिलानमाथि कठिन जीत हात पारेको हो ।

खेलको ३२ औँ मिनेटमा बार्सिलोनाका लागि राफिन्हाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । 

८३ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे । उनले इभान राकीटिचले दिएको पासलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाए । निर्धारित समयसम्म इन्टर मिलानले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेलमा हार बेर्होर्‍यो ।

जारी प्रतियोगितामा लगातार तेस्रो जीत हात पारेको बार्सिलोना ९ अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा छ । पराजित इन्टर मिलान ६ अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै, बुधवार राति नै भएको अर्को खेलमा टोट्नह्यामले पिएसभी इन्डहोभेनसँग २-२ गोलको बराबरी खेलेको छ । टोट्नह्यामका लागि खेलको ३९ औँ मिनेटमा लुकास मौरा र ५४ औँ मिनेटमा ह्यारी केनले एक-एक गोल गरे ।

यता पिएसभीका लागि २९ औँ मिनेटमा लोरेन्जोले तथा ८७ औँ मिनेटमा डि जोङगले एक-एक गोल गरे । खेलको ७९ औँ मिनेटमा टोट्नह्यामका हुगो लोरिस रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बाडेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?