नेपाल संवत्का प्रवर्तक साख्वामा आधारित पुस्तक बजारमा

काठमाडौँ, १ कात्तिक असोज ।पत्रकार तथा साहित्यकार मल्ल के. सुन्दरद्वारा लिखित राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनमा आधारित आख्यानात्मक उपन्यास ‘शंखधर’ आजदेखि बजारमा आएको छ ।सो पुस्तकमा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वासम्बन्धी ऐतिहासिक विवेचना, त्यस बेलाको काठमाडौँको सामाजिक अवस्था, काठमाडौँको दरबार क्षेत्र, शंखधरले जनताको ऋण मुक्त गरी नेपाल संवत्को प्रचलनमा ल्याएको, लिच्छवी राजा राघवदेव, विभिन्न भाषा वंशावलीमा उल्लेखित तथ्य समावेश गरी उपन्याशमा ढालिएको छ ।नेपाल संवत् ११३८ न्हुदंको उपलक्षमा आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गरे ।सो अवसरमा जोशीले काठमाडौँको लखु तीर्थमा निकालिएको बालुवा भोलिपल्ट सुनमा परिणत भएको र त्यसबाट प्राप्त धनबाट जनतालाई ऋणबाट मुक्ति दिलाई शंखधरले ११३८ वर्षअघि नेपाल संवत् प्रचलनमा ल्याएको धार्मिक विश्वास रहेको बताए ।ऐतिहासिक तथ्यलाई आधार मानि मल्लजीले लेख्नुभएको उपन्यास महत्वपूर्ण रहेको बताउँदै नेवार समुदायको संस्कृति, कला तथा साहित्य झल्किने महत्वपूण पुस्तकलाई नेपाली, अंग्रेजी तथा अन्य विदेशी भाषामा अनुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउनुपर्नेमा जोड दिए ।नेपाल भाषा मंका खलका संस्थापक अध्यक्ष पद्मरत्न तुलाधरले नेपाल संवत्लाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मान्यता दिएको तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा भएको एक उपलब्धि भए पनि नेपाल संवत्लाई व्यवहारमा कार्यान्वयन गर्न तथा राष्ट्रियस्तरमा नेपाल संवत् मनाउन राज्यले ध्यान नदिएको चर्चा गरे ।शंखधर पुस्तकका लेखक तथा वरिष्ठ पत्रकार मल्ल के सुन्दरले भाषा वंशावलीसहित शंखधर साख्वासम्बन्धी पुस्तक, ताम्रपत्र, ऐतिहासिक दस्तावेजको अध्ययनपछि यो पुस्तक तयार पारिएको र शंखधर साख्वासम्बन्धी अध्ययन तथा अनुसन्धान राष्ट्रियस्तरमा गर्नुपर्नेमा बताए ।नेपाल संवत् ११३८ न्हुदं समारोह समितिका अध्यक्ष चित्तरञ्जन नेपालीले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले नेपाल संवत्लाई सरकारले व्यवहारमा प्रचलनमा ल्याउनुपर्ने बताए ।जनकवि दुर्गालाल श्रेष्ठ, समाजसेवी लक्ष्मीदास मानन्धरले नेपाल संवत्लाई राष्ट्रियस्तरमा मनाउनुपर्ने बताए भने समारोहको सभापतिको आशनबाट नेवा जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्यले नेपाल संवत् नेवारको मात्र नभई देशको नै भएकाले सबै नेपाली एक हुनुपर्ने औँल्याए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?