कतारसँगको पाँच वर्षे सहकार्य फलदायी हुन्छ : अध्यक्ष शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ र कतार फुटबल फेडेरेशनबीच पाँच वर्षसम्मको लागि सहयोग सम्झौता भएको छ । 

दोहास्थित ‘क्युएफए’को मुख्य कार्यलयमा बुधवार भएको एक कार्यक्रममा ‘एन्फा’ अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल फेडेरेशनका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल तानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताले दुई देशबीचको खेल विकास गर्न सहयोग मिल्ने बताइएको छ । अहिले एन्फा अध्यक्ष शेर्पा र लिग कमिटिका सयोजक विज्ञान राज शर्मा कतारमा छन् । यसअघि एन्फाले जापान फुटबल एसोसिएसन ‘जेएफए’सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

त्यस्तै दुई देशबीच व्यस्थापन, टेक्निकल, प्रशिक्षक, रेफ्री र खेलाडीको आदान-प्रदान हुनेछ । एन्फा र कतार फुटबल फेडेरेशनबीचत विभिन्न १७ विषयमा सहकार्य हुनेछ  ।

एन्फा र ‘क्युएफए’बीच व्यवस्थापन, मार्केटिङ, स्पोर्ट्स फेसिलिटिज, अध्ययन तथा अनुसन्धान, टेक्निकल कोचिङ,  रेफ्री, फुटबल म्यानेजमेन्ट र टेक्निकल डिरेक्टर, खेल विकास र प्रतिभाशाली खेलाडी उत्पादन, महिला फुटबल, युथ फुटबल, फुटसल, स्पोर्ट्स साइन्स, स्पोर्ट्स मेडिसिन र फुटबल अनुसन्धान लगायतका बिषयमा सहकार्य हुने बताइएको छ ।

 
‘मलाई खुशी लागेको छ, हामीहरुले कतार फुटबल संघसँग सहकार्य गर्न सफल भयौं, यो सहकार्य पक्कै पनि फलदायी साझेदारी हुनेछ’ अध्यक्ष शेर्पाले बताए । 

नेपाल र कतारबीच पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारी भइरहेको बताइएको छ । सन् २०२२ को विश्वकप कतारले आयोजना गर्दैछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?