पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डको लज्जास्पद हार

एजेन्सी । श्रीलंकाविरुद्धको पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड पराजित भएको छ । 

मंगलवार राति सम्पन्न भएको अन्तिम खेलमा इंग्ल्याण्डले लज्जास्पद हार बेहोरेको हो । राजधानी कोलम्बोमा भएको खेलमा इंग्ल्याण्ड श्रीलंकासँग  डिएल थर्ड मेथर्डको आधारमा २ सय १९ रनले पराजित भएको हो ।

एक दिवसिय क्रिकेटमा इंग्ल्याण्डले हार बेहोरेको यो सबै भन्दा फराकिलो अन्तरको हार हो । 

३ सय ६७ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इंग्ल्याण्डको खेल वर्षाले प्रभावित हुनु अघि २६ दशमलब १ ओभरमा ९ विकेटको क्षतीमा  १ सय ३२ रन मात्र जोडेको थियो ।  इंग्ल्याण्डका लागि बेन स्ट्रोक्सले ६७ रन, मोइन अलीले ३७ तथा जो रुटले १० रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने खासै उल्लेख्य योगदान दिन सकेनन् । 

श्रीलंकाका लागि अलिका धनन्जयले कसिलो बलिङ गर्दै ४ विकेट लिए । उनले ६ दशलमब १ ओभरमा १९ रन खर्चदै ४ विकेट लिन सफल भए । त्यस्तै दुश्मन्था चमेराले ३ र धनन्जय डी सिल्भाले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रनको योगफल तयार पारेको थियो । 

श्रींलकाका लागि निरोशन डिकवेला, सदीरा समरविक्रमा, दिनेश चान्डीमल तथा कुशल मेन्डिशले अर्धशतकिय पारी खेलेका थिए । डिकवेलाले ९५ रन, कप्तान चान्डिमलले ८० रन, मेन्डिशले ५६ रन तथा सदीरा ५४ रन जोडेका थिए । 

इंग्ल्याण्डका लागि मोइन अली र टम कुरनले समान दुई-दुई विकेट हात पारे । 

यस अघि भएको पहिलो एक दिवसीय खेल पनि वर्षाको कारण हुन सकेको थिएन् । दोस्रो खेल पनि डिएल थर्ड मेथर्डको आधारमा इंग्ल्याण्ड ३१ रनले, तेस्रो खेल ७ विकेटले तथा  चौंथो खेलमा ८ विकेटले विजयी भएको थियो ।

 पाँच एक दिवसीय क्रिकेटको श्रृंखला इंग्ल्याण्डले ३-१ ले आफ्नो पक्षमा पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?