रकम हिनामिना भएको भन्ने समाचार प्रति माछापुच्छ्रे बैंकको ध्यानाकर्षण

लोकपथ
78
Shares

काठमाडौं । बिहिवार विभिन्न सञ्चारमाध्यममा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार प्रति बैंकले ध्यानाकर्षण प्रकट गरेको छ ।

रुपन्देहीको समरीमाई गाउँपालिका ५ रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका २ मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्र (बिएलबि) मार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित निरन्जन पाठक र सिकन्द्र ठाकुर व्यवसायिक प्रतिनिधी नियुक्त भई कारोबार हुँदै आएकोमा निरीक्षणको क्रममा उक्त ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरुबाट भएको कार्यमा कैफियत देखिए पछि उक्त सेवा बन्द गरिएको बैंकले जनाएको हो ।

सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाईममा रकम जम्मा हुने र सिस्टममार्फत नै भौचर (रिसिप्ट प्रिण्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा प्रतिनिधिहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानून विपरित रहेकोमा प्रतिनिधिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिएको बैंकले बताएको छ ।

प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैले खाए मासेको लिखित रुपमा नै स्वीकार गरी सकेको र प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने र सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयमार्फत आवश्यक कानूनी प्रकृया सुरु भईसकेको जानकारी गराउदै उक्त कार्यबाट पिडित भएका सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागि हुनसमेत बैंक आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?