च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी र युभेन्ट्स विजयी

एजेन्सी । जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा म्यान्चेस्टर सिटीले  युक्रेनी क्लब साख्तर डोनेक्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको ३० औँ मिनेटमा म्यान्चेस्टर सिटीका लागि डेभिड सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै, ३५ औँ मिनेटमा एमारिक लापोर्टेले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । 

खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । एक पक्षिय रहेको खेलको ७१ औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल सिटीले ३-० ले आफ्नो पक्षमा पार्‍यो । 

जितपछि समूह ‘एफ’ मा रहेको म्यान्चेस्टर सिटीले ३ खेलबाट ६ अंक बनाएको छ ।  २ अंक मात्र बनाएको शाख्तर डोनेक्स अन्तिम स्थानमा छ ।

यता, मंगलवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड इटालियन क्लब युभेन्ट्ससँग १-० गोल अन्तरले पराजित भएको छ । आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले युभेन्ट्ससँग हार बेहोरेको हो ।

युभेन्ट्सका लागि खेलको १७ औँ मिनेटमा पाउलो डिबालाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । समूह ‘एच’ मा रहेको युभेन्ट्सले अपराजित रहँदै ३ खेलबाट ९ अंक बनाएको छ । म्यान्चेस्टर युनाइटेड ४ अंक सहित दोस्रो स्थानमा छ ।

 मंगलवार राति नै भएको योङ ब्वाइज र भ्यालेन्सियाबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ । यता लियोन र टिएसजी होफेनहेनले पनि ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?