साथीको लहलहैमा जिम पुगेको केटो यसरी बने बडि विल्डर

काठमाडौं । धेरै खेलाडीको एउटै सपना हुन्छ, विदेशी भुमिमा खेल्ने र मेडल जित्ने । तर यस्तो सुनौलो अवसर कमै खेलाडीले मात्र पाउँछन् ।

त्यसमध्ये कमैले मात्रै सफलता हात पार्छन् । विदेशी भुमिमा रहेर नेपाली खेलाडी  हुँ भनेर गर्वका साथ छाती फुलाउने खेलाडीहरु विरलै मात्र पाइन्छन् । नेपाली खेलकुद क्षेत्रमा लाग्ने केही खेलाडीहरु प्रतियोगितामा सहभागी हुने भनेर उतै पलायन भएका  धेरै घटनाहरु छन् ।

कति खेलाडीहरु अहिले पनि विदेशी भुमिमा नै आफ्नो रोजीरोटीको लागि संघर्ष गरिरहेका छन् भने कति खेलाडीहरु नेपाल फर्किदै पुनः खेलकुदमा नै लागिपरेका छन् । 

सन् २००८ मा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका ‘बडि विल्डर’ सन्तोष कुमार श्रेष्ठ जो विदेशी भुमिमा रहेर पनि नेपाललाई चिनाइरहेका छन् । उनले अहिलेसम्म १० स्वर्ण, ८ रजत र ६ कास्य पदक जितिसकेका छन् । पछिल्लो समय शारीरिक सुगठनमा लाग्ने धेरै खेलाडीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तर, श्रेष्ठले जत्तिको सफलता कमै खेलाडीहरुले मात्र पाएका छन् । अस्ट्रेलियामा रहदा साथीको लहलहैमा जिम पुगेका उनी अहिले एक सफल बडि विल्डर मात्र हैन् प्रशिक्षक समेत बनिसकेका छन् । 

उनी सम्झिन्छन्, ‘‘साना हुँदा म फुटबल खेलाडी बन्छु भन्थे । फुटबल र क्रिकेटमा मात्र मेरो रुची थियो । तर समयले अहिले मलाई कुशल बडि बिल्डर बनाएको छ, शुरुमा त्यतिकै विदेशी साथीहरुसँगै जिममा गएको थिए, म बडि बिल्डर हुन्छु जस्तो चाही लागेको थिएन्, बिस्तारै जिम गर्दै जादा बडि बिल्डिङ प्रति मेरो रुची बढ्दै गयो र अहिले पनि यसैमा लागि परिरहेको छु’’ 

सन् २०१४ सेप्टेम्बर २८ मा सिड्नीमा भएको ‘आइएनबिए’ एनएसडब्लु च्याम्पियनसिप अन्तर्गत मेन्स ओपन फिटनेश मोडलमा उनले कास्य पदक जितेका थिए । 

‘‘त्यतिबेला म जीवनमा नै पहिलो पटक बडि बिल्डिङ च्याम्पियनसीपमा सहभागी भएको थियो, मेरो पहिलो सहभागिता त्यसमा पनि ब्रन्ज मेडल जित्न सफल भए, त्यसपछि मेरो रुची झन् बढ्दै गयो । ’’ उनले लोकपथलाई बताए । 

साथै, उनले पहिलो पटक कास्य पदक जित्दाको पाएको खुशीको क्षण वर्णन गर्न नसकिने पनि जानकारी दिए । 

‘‘पहिले बडि बिल्डिङको बारेमा केही थाहा नभएकोले मैले मेडल जित्न सफल भए, यसको सबै श्रेय मेरो साथीहरुलाई जान्छ, उनीहरुको मेहेनत र गाइडको कारणले नै मैले पहिलो पटक पदक जिते’’ उनले भने । 

त्यस्तै, उनले सन् २०१६ मा नै भएको अर्को ‘आइएनबिए’ मसल्स र फिटनेश शो मा अर्को ठूलो सफलता हात पारे । उनले एक महिनाको अन्तरालमा एक स्थानमाथि उक्लदै रजत पदक जित्न सफल भए । 

‘‘मैले काँस्य पदक जितेको एक महिना पनि बितेको छैन । लगतै दोस्रो सफल प्राप्त गरे, सर्ट मेन्स फिटनेश मोडलतर्फ मैले रजत पदक जिते प्रश्चात मेरो मनोबल बढ्दै गयो । च्याम्पियनसीपहरु खेल्दै गए, अझै राम्रो गर्नुपर्छ भन्ने मनमा लाग्यो र त्यहि अनुसार मेहनत पनि गरे’’ उनले थपे । 

 

साथै श्रेष्ठले त्यसैवर्ष सम्पन्न भएको मेन्स ओपन फिटनेसमा गोल्ड मेडल जित्न सफल भए । त्यहि वर्ष उनी दुवईमा आयोजना भएको ‘आइएनबिए’ विश्व च्याम्पियनसीपको लागि उनी छनोट भएका थिए । दुबईमा भएको खेलमा पनि उनले स्वर्ण पदक जिते ।

‘‘दुबईमा स्वर्ण पदक जित्दा निक्कै खुशी लागेको थियो, त्यतिबेला मैले अस्ट्रेलियाबाट सहभागिता जनाएपनि त्यहाँ म मात्रै नेपाली थिए, त्यो नै मेरो जीवनको अविस्मरणीय क्षण हो’’ उनले लोकपथलाई भने । 

साथै उनले १ सय ८ जना खेलाडी अस्ट्रेलियाबाट खेलेपनि उनले समग्रमा ५ स्वर्ण र १ रजत पदक जितेका थिए । त्यसपछि उनले अमेरिका, हंगेरी लगायतको केही राष्ट्रहरुमा भएको प्रतियोगितामा सहभागि हुँदै पदक जित्न सफल भए । 

उनी भन्छन्, ‘‘बडि बिल्डिङमा लाग्न ‘डेडिकेशन’ र ‘फोकस’ चाहिन्छ, त्यसैले बडि बिल्डर बन्न सजिलो छैन । हरेक कुराहरुलाई म्यानेज गर्न सक्नुपर्छ । जिम मात्र गर्ने डाइट पुगेन भने उल्टै शरिरमा विभिन्न समस्याहरु आइपर्छन् ।’’

बडि बिल्डर श्रेष्ठले गैर आवासिय संघ अस्ट्रेलियाबाट अहिलेसम्म केही सहयोग नपाएको गुनासो पोखे । ‘‘अहिलेसम्म ‘एनआरएन’ अस्ट्रेलियाबाट केही सहयोग पाएको छैन, एउटा नेपाली खेलाडीले विदेशी भुमि रहेर कयौँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दा के छ भनेर समेत नसोध्दा दुःख लागेको छ । मैले जति प्रतियोगिताहरु खेले मेरै निजी लगानीबाट खेलेको हँु ।’’ 

सन्तोषको सपना

बुटवलको सालझुण्डीमा जन्मिएका बडि बिल्डर सन्तोष श्रेष्ठले ‘आइसिएन’ नेपाल नाम संस्थाको स्थापना गरेका छन् । 

श्रेष्ठले ‘आइसिएन’ नेपालको मुख्य उद्देश्य भनेको नेपालमा भएका बडि बिल्डरहरुलाई विदेशी भुमिमा सहभागी गराउनु र आर्थिक सहयोग गर्नु रहेको जानकारी दिए । उनकै पहलमा धरानका मिलनचन्द्र राई सहित ३ खेलाडीले थाइल्याण्डमा भएको प्रतियोगितामा सहभागी हुने मौका प्राप्त गरेका थिए । उनले खेलाडीहरुको लागि लाग्ने सबै खर्च ब्येहोरेको पनि जानकारी दिए । त्यतिबेला मिलनले चार स्वर्ण पदक जितेका थिए । उनले अहिलेसम्म १० जना बडि बिल्डरहरुलाई अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा सहभागी गराइसकेको बताए । 

टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका श्रेष्ठको नेतृत्वमा राई बाहेक विनोद महर्जन, दिपु मुनिरकार र राजु महर्जन  विभिन्न स्पर्धाको ‘टप फाइब’सम्म पुगेका थिए । ‘‘ठूलो देशहरुमा नेपाली खेलाडीहरुलाई सहभागी गराउने मेरो इच्छा छ, तर जहिल्यै नेपाली बडि बिल्डरहरुलाई भिषा कै समस्या हुन्छ । अहिलेसम्म मैले थाइल्याण्ड, इन्डोनेशिया लगायतका देशमा मात्र नेपाली खेलाडीहरु लान सकेका छौँ । आशा गरौँ नेपाली बडि बिल्डरहरुले पनि ठूलो देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मैदानमा खेल्ने अवसर प्राप्त गर्नु सकुँ’’ उनले बताए । 

सिड्नीको फेमस मःम सेन्टर

सन्तोष खेलकुद क्षेत्रमा मात्र हैन, व्यवसायमा पनि उत्तिकै सफल छन् । उनले सिड्नी व्यस्त सहरमा ‘दी मोःमो’ नाम दिएर रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका छन् । 

च्याम्पियनसिपका दौरान ‘बाइसेप, ट्राइसेप, चेस्ट, विङ्स’ लगायतको पोज दिने उनी रेस्टुरेन्टमा मःम बनाउने देखि ग्राहकलाई बाड्ने देखि भाडा माझ्नसम्मको काम गर्न पछि पर्दैनन् । उनको रेस्टुरेन्टमा मःम खान नेपाली मात्र हैन विदेशीहरु पनि जाने गरेको उनले बताए । 

‘‘खेल मात्र खेलेर पेट पालिन्न । त्यसैले खेल जीवनसँग सानो व्यवसाय पनि गरिरहेको छु, व्यवसाय हुँदा खेल जीवनमा पनि लाग्न सजिलो भएको छ ।’’ उनलेखुसी हुँदै थपे । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?