१७ महिनादेखि बन्द उडान बुधबारबाट शुरु

रुकुम । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु हुने भएको छ । १७ महिनादेखि रोकिएको उडान सेवा बुधबारदेखि शुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । 

उनका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान शुरु गर्ने बताइएको छ । हप्ताको दुई पटक काठमाडौं–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान भर्ने गरी हवाई सेवा शुरु हुन लागेको हो । 

लामो समयदेखि रोकिएको चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई सहज हुने भएको छ ।

यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा गत वर्षको जेठ अन्तिम सातादेखि बन्द भएको थियो । बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल चाल्दै आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?