नेपाली कांग्रेसले तीन खण्डको घोषणापत्र ल्याउने

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा आर्थिक सुशासनको विषयलाई प्राथमिकता दिने भएको छ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ल्याउने घोषणापत्रमा आर्थिक सुशासनको विषयलाई विशेष प्राथमिकता दिइने जनाएको हो ।

शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि घोषणापत्रको बारेमा संक्षिप्त जानकारी दिँदै घोषणापत्र मस्यौदा उपसमितिका संयोजक डा. स्वर्णिम वाग्लेले सो कुराको जानकारी दिएका हुन् । उनले घोषणापत्रको मुख्य सारमा आर्थिक सुशासनलाई प्राथमिकता दिइने बताए । त्यसैगरी युवा, रोजगारी र उद्यमशिलताको विषयलाई पनि प्राथमिकतामा राखिने उनले बताए ।

डा. वाग्लेले जलवायु परिवर्तनको विषयलाई पनि जोडदार रुपमा उल्लेख गरिने बताएका छन् । उनले घोषणापत्रमा तीन खण्ड हुने जसमा पहिलो खण्डमा राजनीतिक विषय, दोस्रो खण्डमा विकासको रोडम्याप र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताको विषय उल्लेख हुने पनि जानकारी दिए ।

उनले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रकै निरन्तरताको रुपमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि घोषणापत्र आउने उल्लेख गरे । उनले घोषणापत्रमा कांग्रेसले समसामयिक राजनीतिको विषयमा टिप्पणी गर्ने, कांग्रेस सरकारमा आएपछि भए गरेका सफलताका कामहरु बारे उल्लेख गर्ने तथा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत हुने पनि बताए ।

घोषणापत्रमा लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको मार्गचित्र के कस्तो हुनसक्छ भनेर सैद्धान्तिक आधार प्रश्तुत गरिने, लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण र सुशासनको एजेण्डा, फराकिलो आर्थिक सामथ्र्य, समन्यायिक समाज र नेपालको सांस्कृतिक सह–अस्तित्व, शिक्षा, स्वास्थ्य, पोषण, सामाजिक सुरक्षाको विषय उल्लेख गरिने बताए । त्यस्तै, जलवायु परिवर्तन, वन, वातावरण, विपद् व्यवस्थापन, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भुमिकाको बारेमा घोषणापत्रमा विषयवस्तु समेटिने उनको भनाइ छ ।

त्यसैगरी, तात्कालिक आर्थिक एजेण्डा पनि प्रस्तुत गरिने उनले बताए । जसमा कर्जाको स्थिति, मुद्रास्फिति, सार्वजनिक आय र खर्च, कृषि र औद्योगिक पूर्वाधार, रोजगारी, सीप, शिक्षा, स्वच्छ ऊर्जाका कुरा र नयाँ सम्भावनाका क्षेत्रहरुका बारेमा समेटिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?