काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनाउँदै गरिएको घोषणापत्रको सम्बन्धमा छलफल भएको छ ।
शुक्रवार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको तर्फबाट बन्दै गरेको घोषणापत्रको सम्बन्धमा छलफल भएको हो ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको थियो । बैठकमा संयोजक शर्माले घोषणापत्रको सैद्धान्तिक पक्षका बारेमा कुरा राखेको कांग्रेसका सह–महामन्त्री जीवन परियारले बताए ।
त्यस्तै, घोषणपत्र मस्यौदा उपसमितिका संयोजक डा. स्वर्णिम वाग्लेले पनि घोषणापत्रको संक्षिप्त सारको विषयमा कुरा राखेको उनले जानकारी दिए । बैठकमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यगरी १२ जनाले घोषणापत्र निर्माणको सम्बन्धमा सुझावहरु दिएको पनि सह–महामन्त्री परियारले बताए ।
घोषणापत्र तयारी समितिले डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको घोषणापत्र मस्यौदा उपसमितिले घोषणापत्र लेखनको काम तिब्र गतिमा गरिरहेको उनले बताए ।
सो उपसमितिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, कांग्रेस नेता गेजा शर्मा वाग्ले, महासमिति सदस्य डा. कृष्ण पौडेल, युवा नेता प्रताप पौडेल, नेता प्रिति मण्डल र सदस्य सचिवको रुपमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले काम गरिरहेको सह–महामन्त्री परियारले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया