खाँणमाथि चुनौति : ०७४ मा आफैंले समर्थन गरेका बोहोरा अहिले आफ्नै प्रतिस्पर्धी

काठमाडौं । मतदानको दिन आउन ३७ दिनमात्र बाँकी छ । त्यसो त विभिन्न दलका नेता तथा कार्यकर्ताहरु मतदाता रिझाउन व्यस्त देखिन्छन् । तालमेल र गठबन्धनका परिदृश्यले यसपाली थुप्रै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

एकपटक रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ३ पुगौँ न । यसपाली यहाँको प्रतिस्पर्धा निकै रोचक हुनेवाला छ । जहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोराबीच प्रतिस्पर्धा हुँदैछ । बोहोरालाई यसपाली नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ ।

यद्यपि, उनलाई ०७४ को निर्वाचनमा भने कांग्रेसले सघाएको थियो । तर, उनले निर्वाचन जित्न सकेनन् । त्यतिबेला बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका घनश्याम भुसालले बोहोरालाई पराजित गरेका थिए । भुसाल ३२ हजार ८६६ मतसहित विजयी हुँदा कांग्रेसको समेत समर्थन पाएका बोहोरा २७ हजार ४२२ मतमा सिमित भए । तथापि, यसपाली भुसाललाई एमालेले टिकट दिएन । जसले रुपन्देही एमालेमा विग्रह ल्यायो । उसो त भुसालले पार्टी नै परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिए । जहाँ उनलाई सत्ता गठबन्धनको समेत समर्थन छ ।

रुपन्देही ३ भुसालको राम्रो प्रभाव भएको क्षेत्रका रुपमा लिइन्छ । तर, उनी नै त्यहाँ उम्मेदवार नहुँदा धेरैजसो एमालेको भोट बोहोरालाई नजाने आँकलन सुरु भएको छ । त्यसैले यसपाली पनि बोहोराका लागि संसदको ढोका नखुल्न सक्छ ।
तर, पूर्व मन्त्रीसमेत भइसकेका बोहोरा जिल्लामा राम्रो प्रभाव भएका नेता हुन् । पञ्चायती व्यवस्थादेखि नै आम निर्वाचनमा सहभागि हुँदै आएका बोहोराले निर्वाचन लड्न लागेको यो सातौँपटक हो । योबीचमा उनले ०७० को संविधान सभा निर्वाचनमा मात्र विजयी भए ।

यता गृहमन्त्रीसमेत रहेका खाँण पनि बलिया प्रतिस्पर्धी हुन् । ०७४ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका खाँणलाई यसपाली जित्नैपर्ने दबाब छ । यद्यपि, रुपन्देही ३ मा विजयको शृङ्खला हेर्ने हो भने खाँण बलियो देखिन्छन् । ०४८ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका खाँण २०६४ र ०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाटै निर्वाचित भएका थिए । त्यसैले रुपन्देही ३ कांग्रेसको पकड क्षेत्रका रुपमा लिइन्छ । तैपनि यसपाली उनलाई गठबन्धनको समर्थन रहने भएको उनलाई अझ सहज हुने कांग्रेस पङ्तिको ठम्याइ छ ।

यद्यपि, मतदातामा आएको जागरण, स्वतन्त्र उम्मेदवारको प्रभाव जस्ता कारण आगामी निर्वाचनमा कस्तो नतिजा आउँछ भन्ने अनुमान गर्न गाह्रो छ । त्यसका लागि भने मतपरिणाम नै कुनुपर्ने हुन्छ ।

रुपन्देही ३ मा बलिया दाबेदार रहेका खाँण र बोहोराविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेली पनि चुनावी मैदानमा छन् । साथै, नागरिक उन्मुक्ति पार्टीका तुलसीप्रसाद थारु, मंगोल नेशनलका तेजकुमारी आले, हाम्रो नेपाली पार्टीका प्रख्यात बञ्जाडे, जनमत पार्टीका प्रमोदकुमार राउत, जनमुक्ति पार्टीका मोजिब अलि मुसलमान, गान्धीवादी पार्टीका लालबहादुर राना, राप्रपा नेपालका सरस्वती धोवी धवल, नेमकिपाका सुरु विक र स्वतन्त्रबाट राजीव शाहीले उम्मेदवारी दिएका छन् ।

स्थानीय निर्वाचनलाई नियाल्दा 

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रुपन्देही ३ मा कांग्रेसका वडाध्यक्षले पाएका मत धेरै छ । जहाँ कांग्रेसले ३४ हजार १ सय ५३ मत प्राप्त गरेको थियो भने एमालेका उम्मेदवारले पाएको मत २९ हजार ४८ छ । त्यस्तै, यस क्षेत्रमा स्थानीय निर्वाचनमा राप्रपाले राम्रो पत पाएको छ । जहाँ राप्रपाका वडाध्यक्षहरुले पाएको मत १३ हजार ३ सय ९७ छ । त्यस्तै, जसपाको ६ हजार १ सय ८३ मत छ । यता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको कुल मत ६ हजार ३२ मात्र छ । यसरी समग्रमा गठबन्धनको मत ४० हजार १ सय ८५ हुन्छ । यता एमाले, राप्रपा र जसपाको मत समग्रमा ४८ हजार ६ सय २८ रहको छ । त्यसैले स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणामलाई विश्लेषण गर्दा बोहोरा बलियो देखिन्छन् ।

त्यसैले यो क्षेत्रको निर्वाचन रोचक हुने पक्का छ । तर, परिणाम कस्तो आउँछ र कसले संसदको ढोका उघार्छ भन्ने हेर्न भन्ने थाहा पाउन मंसिर ४ सम्म कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?