श्रम ऐन कार्यान्वयन गर्न माग गर्दै चिया श्रमिक आन्दोलित

झापा । श्रम ऐन कार्यान्वयन गर्न माग गर्दै झापाका चिया श्रमिक पुनः आन्दोलित भएका छन् । 

सरकारले लागू गरेको श्रम ऐन कार्यान्वयन, न्यूनतम ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन आदि चार सुत्रीय माग राख्दै चिया श्रमिक पुनः आन्दोलित भएका हुन् । 

सरकारले गत वर्षको भदौ १९ गते श्रम ऐन लागू गरेको थियो । 

मंगलबार बिहान झापा मेचीनगरको टोकला चिया बगानका करिब ३ सय श्रमिकले पत्रकार सम्मेलन गरी ५ दिनभित्र माग पूरा नगरे चरणवद्ध रुपमा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । 
बगान कारखाना परिसर भित्रै पत्रकार सम्मेलन गरेका श्रमिकहरुले आगामी कात्तिक ११ गतेसम्म आफ्नो माग पूरा नभए बगानका सम्पूर्ण काम ठप्प पार्नुका साथै सडक संघर्ष नै शुरु गर्ने चेतावनी दिएका हुन् । 

‘बारम्बार अनुरोध गर्दा पनि बगान प्रशासनले हाम्रो मागलाई वेवास्ता गर्दै आइरहेको छ’, श्रमिक नेता तिलक दर्जीले भने, ‘अब हाम्रो धैर्यताको बाँध फुटिसक्यो ।’

श्रमिक नेता मिलन राईले श्रम ऐनमा उल्लेखित दशैं खर्च पाउनु पर्ने व्यवस्थालाई समेत बगान प्रशासनले वेवास्ता गरेको आरोप लगाउदै उनले भने, ‘दशैँ खर्च नपाउँदा धेरै श्रमिकको दशैँ खल्लो बन्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?