सरकारले चासो नदिँदा भत्केका भौतिक संरचनामा अध्ययन गर्न बाध्य

लोकपथ
0
Shares

काठमाडौं । बाँकेको बैजनाथ गाँउपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनिय बनेको छ । जिल्लाको बैजनाथ गाँउपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्रथामिक विद्यालयको अवस्था पनि डरलाग्दो छ । भौतिक संरचनाहरु जिर्ण अवस्थामा छन् । वि.सं. २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसके पछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन ।

बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको विद्यालयको सुुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरु वर्षेनी घटीरहेका छन् । विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरुको गुनासो छ । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरु नै बताउँछन् ।

गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरु निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जिर्ण बन्दै गएको बैजनाथ गाँउपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावतले बताए । उनका अनुसार ५ वर्षमा विद्यालयमा १ लाख मात्र बजेट विनियोजित भएको छ । विद्यालयको फर्निचरको लागि वडा कार्यालयले ५ वर्षमा मात्र १ लाख रुपैयाँ दिएको उनको भनाइ छ ।

विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रध्यानध्यापक सुरेशकुमार थारुले बताए । उनका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाइ भएपनि भौतिक संरचना जिर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी रहेको बताएका हुन् । स्थानिय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उनको भनाइ छ ।

स्कुल विकास समितिका सदस्य राधेश्याम थारुले विद्यालय विकास समितिले विद्यालयको मर्मतसम्भारका लागि वडाबाट अहिलेसम्म १ लाख रुपैयाँ मात्र उपलब्ध भएको बताए । यसअघिको विकास समितिले केही नगरेपनि पछिल्लो विद्यालय विकास समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको बताएका छन् । उनले विद्यालय स्थापना भएको ४ दशक पुग्दासमेत कुनै भौतिक संरचना र विद्यालयको कुनै विकास निर्माण हुन नसक्नु भनेको देशकै लागि लज्जाजनक विषय भएको जानकारी दिए ।

विद्यालयका सबै भवनहरु भत्केर जिर्ण छन् तर मर्मत हुने छाँटकाँट देखिँदैन । आवश्यक सामग्रहरु पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरुको भनाइ छ । भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानोहरु नै उडाउने जस्ता समस्या रहेको उनीहरु बताउँछन् । विद्यालयको पूर्वाधार जीर्ण भएको छ भने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयहरुको भनाइ छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शुन्य जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?