साताको सेयर बजार : नेप्से बढेपनि कारोबार रकममा तरलता अभावको प्रभाव

लोकपथ
13
Shares

काठमाडौं । यो साता सेयर बजार परिसुचक (नेप्से) उकालो लागेको भएपनि कारोबार रकम भने अपेक्षा गरे अनुसार बढ्न सकेन् । वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण लगानीकर्ताहरुले आफूसँग भएको नगद सेयर कारोबारमा भन्दा पनि अन्य क्षेत्रमा खर्च गर्न थालेको र प्रतिनिधि सभा निर्वाचनको मिति पनि नजिकिँदै गर्दा यसको असर कारोबार रकममा पनि परेको हो । जसले गर्दा यो साता नेप्से बढेपनि कारोबार रकम खासै बढ्न सकेन् ।

यो साता नेप्से १८ सय ७० दशमलव ६३ अंकमा पुगेर रोकिएको छ भने ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स तीन सय ६७ दशमलव १४ अंकमा पुगेर रोकिएको छ । सातामा दुुई सय ३३ वटा कम्पनीहरुको ७६ हजार चार सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ४० हजार चार सय ११ कित्ता सेयर खरिद बिक्री गरेका छन् । जसबाट सातामा तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार पाँच सय ५३ रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साता अर्थात दसैँअघिको तुलनामा भने केहीबढी हो ।

दसैँअघि भने नेप्सेमा दुुई सय २९ वटा कम्पनीहरुको ६५ हजार सात सय ३१ पटकको कारोबारमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएका थिए । सोही खरिद बिक्रीका आधारमा उक्त साता दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँको सेयर किनबेच भएको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, चौंथो र पाँचौं दिन नेप्से बढेको थियो भने दोस्रो र तेस्रो दिन नेप्से घटेको थियो ।

यो साता पहिलो दिन ४४ दशमलव ६२ अंकले बढेर एक हजार आठ सय ९८ दशमलव ३८ अंकमा पुग्न सफल भएको नेप्से दोस्रो दिन भने २७ दशमलव १६ अंकले घटेर एक हजार आठ सय ७१ दशमलव २२ मा खुम्चिएको थियो । यसैगरी तेस्रो दिन १६ दशमलव छ अंकले घटेर एक हजार आठ सय ५५ दशमलव १६ अंकमा झरेको नेप्से चौथो दिन भने ११ दशमलव ३२ अंकले बढेर १८ सय ६६ दशमलव ४८ अंकमा पुग्न सफल भएको थियो । पाँचौ दिन पनि नेप्से चार दशमलव चार दशमलव १५ अंकले बढेर १८ सय ७० दशमलव ६३ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी पहिलो दिन आठ दशमलव ७८ अंकले बढेर तीन सय ७२ दशमलव २१ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने पाँच दशमलव ३६ अंकले घटेर तीन सय ६६ दशमलव ८४ अंकमा खुम्चिएको थियो । तेस्रो दिन तीन दशमलव २१ अंकले घटेर तीन सय ६३ दशमलव ६३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौथो दिन भने दुई दशमलव ५६ अंकले बढेर तीन सय ६६ दशमलव १९ अंकमा पुग्न सफल भएको थियो । पाँचौ दिन पनि सेन्सिटिभ इन्डेक्स शून्य दशमलव ९५ अंकले बढेर तीन सय ६७ दशमलव १४ अंकमा चढ्न सफल भएको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी संख्यामा सेयर किनबेच हुने कम्पनीहरुको सूचीमा हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदि परेका छन् । बजार पूँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा) :-

     दिन                    कम्पनी संख्या              कारोबार संख्या           कित्ता              कारोबार रकम
पहिलो दिन                       २२४                            १४९९१                २५३३३९३            ८३६८७३१४०
दोस्रो दिन                         २३३                            १७८७६               ३१५५६९५           ९७१७६७७१४
तेस्रो दिन                          २२९                            १२२९३               १७६७६९२            ५५२७१२८८५
चौंथो दिन                          २२३                            १४१८६               २०८५२८४            ६९१७३७८९४
पाँचौं दिन                           २२२                           १७१४५                २६९८३४७           ८२९६४६९२०
कुुल                                                                   ७६४९१              १२२४०४११        ३८८२७३८५५३

                       (श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?