सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

RSS
0
Shares

जुम्ला । दसैंदेखि असोज २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त जुम्ला सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषण गर्न माग उठेकाे छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सिञ्जा क्षेत्रका कनकासुन्दरी, हिमा र सिञ्जा गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष माग गरेको छ । अविरल वर्षाका कारण ती स्थानीय तहमा जनधनको क्षति भएकाले सङ्घीय सरकारलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।

बैठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को ९१० बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिञ्जा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडानं १, ३, ४, ६, ७ र ८ तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको वडा नं. ३ लाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार विपद्ले जुम्लामा एक हजार छ सय ७५ घर विस्थापित भएका छन् । तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्च जोखिम, ७२६ घर आंशिक क्षति भएका छन् । बाढीपहिराले जुम्लामा १० जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

“क्षतिको थप विवरण आउन अझै बाँकी छ”, सहायक प्रजिअ रिजालले भने, “यसका लागि स्थानीय तह र विषयगत कार्यालयलाई निर्देशन स्थलगत रुपमा पुगेर तथ्य विवरण ल्याउन सुझाएका छौँ । आजको बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार असोज १९ गते परेको अविरल वर्षा र बाढीले अवरुद्ध कर्णाली राजमार्ग खुलाउन जुम्ला रारालिहीदेखि नाग्म सडकमा डोजर लिएर जिल्लाको सरोकारवाला सबै टोली त्यहाँ पुगेको उनले बताए ।

सडक सुचारु गर्न काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसमेत डुबानमा परेको जनाउँदै त्यसको आवश्यक व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुङ्गालगायतका बस्ती पहिराले विस्थापित बनाएकाले उनीहरुको पुनःस्थापनामा प्राथमिकता दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?