बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ

लोकपथ
65
Shares

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतललगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार भएका ८ जनालाई काठमाडौं प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए ।

बोहोराका अनुसार पक्राउ पर्नेहरुमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे–८ घर भइ हाल गोकर्णेश्वर बस्ने वर्ष २७ को दोर्जे शेर्पा, बालक गाउँपालिका–२ का वर्ष २९ को विनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का वर्ष २८ को विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेल बहादर खत्री छन् ।

उनले दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ का दीपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोशी गाउँपालिका–८ का ३२ वर्षीय दीपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएको जानकारी दिएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक बोहराले अनुसन्धानका क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेहरुको साथबाट खुकुरी थान–३, प्र३००२–०१० प ३७६५ नम्बरको एनएस मोटरसाइकल, प्र३०२–०११ प ४६४७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, घटना स्थलमा फेला परेका ईंट्टा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद गरेका बताए । हाल काठमाडौं जिल्ला अदालतबाट उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति पाएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?