४० वर्षदेखि दौडिरहेका धावक रामकृष्ण महर्जनको उत्प्रेरक जीवनकथा: ‘शरिरले साथ दिएसम्म दौडिरहन्छु’

काठमाडौं । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ यो राष्ट्रिय खेलकुद परिषद्को मुख्य ‘थिम’ हो । खेलकुदमा लाग्न न त उमेरले छेक्छ, न त कामले । खेलाडीहरुको एउटै मात्र उद्देश्य हुन्छ, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै राष्ट्रलाई मेडल दिलाउने । फुटबलका राजा भनेर चिनिने पेलेदेखि लिएर म्याराडोना, जिनेदिन जिदान लगायतका खेलाडीहरु अझै पनि खेलकुदमा सक्रिय छन् । उनीहरु बेला बेलामा हुने च्यारेटी सो, मैत्रिपूर्ण खेलमा जर्सी बुट लगाएर मैदानमा खेल्न पछि समेत हट्दैनन् । 

 

धावक रामकृष्ण महर्जन, उमेरले ६ दशक नाघिसके । अर्थात् उनी ६० मा हिडिरहेका छन् । बुढो शरिर भएपनि उनले भेट्रानतर्फ नेपाललाई पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भए । उनी जव मैदानमा अभ्यास गर्छन्, त्यतिबेला उनको जोश र उत्साह भने युवाकै जस्तो देखिन्छ । एकपछि अर्को अन्तर्राष्ट्रिय म्याराथनमा दौडिरहेका उनले भेट्रानतर्फ अहिलेसम्म ३ स्वर्ण पदकसहित अन्य थुप्रै पदक जितिसकेका छन् । 

‘‘म खेल जीवनमा लागेको ४५ वर्ष भयो । पहिले म काठमाडौँको ज्याठामा बस्दा अमेरिकन दुतावासमा पनि त्यहि नै थियो, त्यतिबेला अमेरिकन ग्रुपहरु दौडिन्थे, उनीहरु दौडिएको देख्दा मलाई पनि दौडिन उत्साह जागेर आयो, उनीहरुकै प्रेरणाले आज म यो स्थानसम्म आउन सफल भएको छु’’ उनले बताए । 

पाको शरिर भएपनि उनले नियमित अभ्यास गर्न छुटाउदैनन् । महर्जन दैनिक १० देखि १५ किलोमिटर दौडिन्छन् । उनले सन् १९७० मा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै दार्जिलिङ डिस्टिक म्याराथनमा रजत पदक जितेका थिए । साथै, उनले सन् २००३ मा पहिलो पटक अन्तर्राष्ट्रिय एरिनामा स्वर्ण पदक जितेका थिए । 

‘‘म नेपालको भेट्रानतर्फ पहिलो स्वर्ण पदक जित्ने खेलाडी हुँ, मैले सन् २००३ र २०१० मलेसियन ओपन एथ्लेटिक्स प्रतियोगिता र थाइल्याण्डको ब्ल्याकमोरेस सिड्नी म्याराथनमा ५० देखि ५५ को उमेर समुहमा स्वर्ण पदक जित्न सफल भएको हुँ’’ उनले भने ।

उनले अमेरिकामा हुने न्युर्योक सिटी म्याराथन, बोस्टन म्याराथन, सिकाको म्याराथन, टोरोन्टो म्याराथन, गोल्डपोस्ट, वल्ड च्याम्पियनसीप म्याराथन, जापानमा भएको टोक्यो म्याराथन लगायत अन्य थुपै म्याराथनहरुमा भाग लिएका थिए । 

‘‘उमेरले डाडाकाटे पनि खेलकुद खेल्ने क्रम जारी छ, अहिले म आउँदो नोभेम्बरमा थाइल्याण्डमा हुने थाइ म्याराथनको लागि तयारी गरिरहेको छु । त्यो प्रतियोगितामा उत्कृष्ट खेल्दै मेडल राष्ट्रलाई दिन्छु भन्ने आशा लागेको छ ।’’ उनले बताए । 

कुनैबेला राष्ट्रिय कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसँगै दौडिएका महर्जनको म्याराथनप्रतिको उनको लगाव वि.स. २०३२ सालबाट शुरु भएको हो । त्यतिबेला स्कुलको प्रतिनिधित्व गर्दै हाफ म्याराथनमा सहभागी उनी, दोस्रो भए । सन् १९७९ मा काठमाडौंमै भएको हिमालयन म्याराथनमा तेस्रो बनेका उनले २०३४ देखि ३६ सालसम्म आर्मीबाट राष्ट्रिय खेलाडीका रुपमा दौडिए । 
उनी खेलाडी मात्रै हैन । एक सफल व्यवसायी पनि हुन् । उनले काठमाडौँको नयाँबजारस्थित हाराती नेवारी नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । 

‘‘खेलेरै मात्रै आफ्नो जीवन सफल हुन्छ भन्ने हुँदैन । खेलकुदमा लागे पछि धेरै गाह्रो हुन्छ, खेलको साथसाथै, आफुले जानेको र अनुभव भएको आफ्नो व्यवसायी गर्न सकेमा आर्थिक संकट व्यर्होनु पर्दैन । विदेशै पलायन हुनु पर्छ भन्ने छैन । त्यसैले नेपालमा गर्न सके धेरै सम्भावनाहरु छन् ।’’ उनले भने । 

चालिस वर्षभन्दा लामो खेल जीवनमा उनले म्याराथनमा सहभागीता बाहेक अरु कुनै लोभ राखेनन् । उनले चाहेको भए प्रशिक्षक वा कर्मचारीका रुपमा खेलकुदमा जोडिन सक्थे । तर धावक रामकृष्णलाई मात्र दौडिनु थियो । शरिरले साथ दिएसम्म दौडिरहने उनको सपना छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?