गगन थापालाई काठमाडौं–४ मा ह्याट्रिक गर्न कत्तिको सहज ?

लोकपथ
858
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचन नजिकिएसँगै देश चुनावमय भएको छ । मतदातालाई रिझाउन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको चहलपहल टोल–टोल, बस्ती–बस्तीमा देखिन थालेका छन् ।

यसपालीको निर्वाचन पाँच दलीय गठबन्धन र नेकपा एमालेसहितका दलबीच कडा प्रतिस्पर्धा हुँदैछ । उसो त धेरैजसो क्षेत्रमा कसले बाजी मार्छ भन्ने अहिले नै आँकलन गर्न गाह्रो छ । कतिपय स्थानमा ‘हेभीवेट’ नेताहरु नै चुनावी प्रतिस्पर्धामा उत्रिएकाले ती क्षेत्रको निर्वाचन अझै रोचक हुने देखिन्छ ।

यही रोचक परिणामको पर्खाइमा छ, काठमाडौं क्षेत्र नम्बर ४ पनि । यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । गगन–राजन पहिलो प्रतिस्पर्धी भने होइन । ०७४ को निर्वाचनमा पनि यी दुई नेता प्रतिस्पर्धीको रुपमा देखिएका थिए ।

यसपाली काठमाडौं–४ मा चुनाव जितेर ह्याट्रिक गर्ने गगनको दाउ छ । उनी ०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य भएसँगै हालसम्म तीनपटक संसद छिरिसकेका छन् । यद्यपि, प्रत्यक्ष निर्वाचन भने तेस्रोपटक लड्दैछन् । यो अवधिमा उनी पार्टीको कार्यकारिणी पदमा पुग्नुका साथै मन्त्रीसमेत भए ।

अब भने गगनले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्न थालिसकेका छन् । आइतबार उम्मेदवारी दर्ता गरेसँगै उनले अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने प्रतिक्रियासमेत दिए । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको थापाको भनाइ थियो ।

साथै, अबको निर्वाचनपछि पार्टीको मुल जिम्मेवारी लिन प्रयास गर्नेसमेत उनले बताए । ‘अबको पाँच वर्ष आफैँ मुल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो,’ उनले भने, ‘मैले यो पटक नेपालको सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने गर्छु । किनकी मलाई त्यसका निम्ति चाहिने अनुभव भयो । सपना मसँग छ । जोस मसँग छ ।’ गगनले बस्ने भनेको ड्राइभिङ सिट प्रधानमन्त्री र पार्टी सभापति हो । पार्टीका कार्यकर्ताले गगनको यही दाबीलाई जनतामाझ पुर्याउन थालेका छन् ।

यता गगनका मुख्य प्रतिस्पर्धी भट्टराई भने गगनलाई रोकेर जबर्जस्त संसद छिर्ने ध्याउन्नमा छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका भट्टराई पार्टीभित्र बौद्धिक नेताका रुपमा परिचित छन् । यदि आगामी निर्वाचनबाट एमालेको सरकार बनेको अवस्थामा भट्टराई मन्त्री हुने सम्भावना धेरै रहेको एमाले पंक्तिको दाबी छ ।

मनोनयन दर्ता गरेसँगै भट्टराईले आफू पुलिन्दा भाषण भन्दा पनि समृद्धिको लक्ष्य हासिल गर्नका लागि जनतामाझ आएको प्रतिक्रिया दिए । ‘अधुरा योजना पुरा गर्न संकल्प गरेर आएको छु,’ उनले भने, ‘संसदमा नुहँदा पनि काम गरेर देखाएको छु, जनता र राष्ट्रको लागि राजनीतिमा इमान लिएर आएको छु ।’

राजनले भनेजस्तै ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र सल्लाहकार हुँदा सत्ता सञ्चालनलाई नजिकबाट नियालेका छन् । ओलीका पालामा सत्ता सञ्चालनमा उनको पनि भूमिका थियो । त्यसैले निर्वाचनपश्चात पार्टीले उनलाई उचित अवसर दिन सक्ने भएकाले पनि यसपाली राजनमाथि जित्नैपर्ने दबाब छ ।

०७४ र स्थानीय निर्वाचनलाई फर्केर हेर्दा…

०७४ को आम निर्वाचनमा भट्टराई पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । पहिलो गाँसमै ढुंगा भनेजस्तै उनी गगनसँग तीन हजार चार सय १८ मतले पराजित भए । त्यसबेला गगनले २१ हजार ५ सय ५८ मत ल्याएर निर्वाचित हुँदा राजन १८ हजार १ सय ४० मै सिमित भएका थिए । जबकि, त्यसबेला राजन बाम गठबन्धनका साझा उम्मेदवार थिए । त्यसो त माओवादीले समेत उनलाई नै मतदान गरेका थिए ।

तर, यसपालीको परिवेश भने भिन्न छ । त्यतिबेला एमालेसँग रहेको माओवादी यतिबेला सत्ता गठबन्धनमा छ । साथै, एमालेको एक पक्ष फुटेर एकीकृत समाजवादी भयो । त्यो पनि सत्ता गठबन्धनमै रहनुले राजनलाई कठिन भने पक्कै देखिन्छ ।
यद्यपि, स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई मूल्यांकन गर्दा भने यो क्षेत्रमा कांग्रेस पछि छ ।

काठमाडौं ५ नम्बर क्षेत्रमा बुढानिलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, १३ नम्बर वडा पर्छन् भने काठमाडौं महानगरको १, ७, ८, ३० रहेका छन् ।

जसमध्ये यो क्षेत्रमा पर्ने बुढानिलकण्ठका कुनै पनि वडा कांग्रेसले जित्न सकेन । १२ वटा वडा रहेको काठमाडौं ४ मा महानगरको ७, ८, ३० मा मात्र कांग्रेसले जित निकाल्यो । अन्य ९ वटामा एमालेका वडाध्यक्ष विजयी भएका छन् । जसअन्तर्गत समग्रमा १२ वटा वडामा वडाध्यक्षले पाएको मतमा एमाले अघि छ । जसमा एमालेका वडाध्यक्षले १६ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका वडाध्यहरुको कुल मत १६ हजार ८४ छ । त्यस्तै, एकीकृत समाजवादीले २ हजार ६८८ मत पाउँदा माओवादीले ८ सय ७३ मत प्राप्त गरेको छ ।

समग्रमा गठबन्धनका वडाध्यक्षले पाएको मत १९ हजार ६ सय ४५ छ । जसले गगनलाई केही सहज भने पक्कै बनाएको छ । जसले उनलाई ह्याट्रिक गर्न सहज बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?