विदेशीभुमिबाटै नेपाल चिनाउँदै महिला बडि बिल्डर ‘प्रा’ भन्छिन्ः ‘नसक्ने, नहुने, नमिल्ने केहि छैन’

काठमाडौं । नेपालमा हरेक साता महिलाहरुलाई लक्षित गर्दै विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना हुँदै आइरहेको छ । तर महिलालाई टार्गेट गरेर आयोजना हुने खेलकुद भने निक्कै कम छ । त्यसो त शारीरिक सुगठनतर्फ लाग्ने पुरुषहरु संख्या धेरै छन् । तर पछिल्लो समयमा महिला बडि बिल्डरहरुको संख्यामा दिन प्रतिदिन बढ्दो छ । महिला बडि बिल्डरहरुले पनि अन्तर्राष्ट्रिय एरिनामा उपाधि जित्दै इतिहास रच्ने क्रम बढ्दो छ । तेक्वान्दोकी सविता राजभण्डारीले एशियाली खेलकुदमा जितेको रजत पदक अहिलेसम्मकै सबैभन्दा ठूलो पदक थियो । यसै वर्षमात्र पुरुष प्याराग्लाइडिङ खेलाडी जित्दै त्यो रेकर्ड तोडेको थियो । 

त्यस्तै, तेक्वान्दोकी संगिना वैद्य, जुडोकी देबु थापा, एथ्लेटिक्सकी कान्छिमाया कोजु, कराँतेकी गंगादेवी अधिकारी लगायतका महिला खेलाडीहरु पदक जित्दै नयाँ रेकर्ड बनाइसकेका छन् । 

‘प्रा’ अर्थात् प्रकृती श्रेष्ठ, उनी प्रोफेनल महिला बडि बिल्डर हुन् । सन् १९९६ देखि अस्ट्रेलियामा बसोबास गर्दै आइरहेकी प्राले अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ६ वटा स्वर्ण पदक जित्न सफल भइसकेकी छिन् । उनी भन्छिन्, ‘‘पहिलो पटक जिम जादा बडि बिल्डर नै हुन्छु भन्ने थिएन, दैनिक अभ्यास गर्न जिम जान्थे, त्यसपछि रुची पनि बढ्दै गयो, त्यसपछि बडि बिल्डीङमा लागेकी हुँ ।’’ 

सन् २०१६ मा मेलबर्नमा नै भएको ‘राइजिङ स्टार एण्ड रोकि अफ दी इयर’ च्याम्पियनसीपको नोभिस फिटनेशमा उनले खेल जीवनमा नै पहिलो स्वर्ण पदक जित्न सफल भइन् । त्यस्तै, थर्टी प्लस फिटनेश मोडलमा पनि स्वर्ण पदक तथा ओपन फिटनेशमा रजत पदक जितिन् । 

‘‘मलाई पहिले देखि नै सन्तोष श्रेष्ठले ट्रेन गर्दै आइरहेका थिए, मलाई पनि बडि बिल्डर हुन सक्छु भन्ने थियो । त्यसैले कडा मेहेनेत पनि गरे । खेल जीवनमा मेरो पहिलो सहभागिता त्यसमा पनि २ स्वर्ण र १ रजत पदक जित्न सफल भएकी छु । ’’ उनले लोकपथलाई भनिन् । 

त्यसै वर्ष नै भएको क्वालसिक मेलबर्न च्याम्पियसीपमा ओपन फिटनेश र ओपन स्पोर्टस मोडलतर्फ दुई स्वर्ण पदक जित्न सफल भइन् । 

‘‘बडि बिल्डिङमा लाग्न सजिलो छैन, त्यसको लागि धेरै कुरालाई त्याग गर्नुपर्छ, जिममा जानेदेखि लिएर के डाइट खानेसम्म राम्ररी ज्ञान हुनु पर्छ’’ उनले थपिन् । 

२०१६ मा नै भएको फिटनेश एक्पोमा उनले प्रो टाइटलसहित स्वर्ण पदक जितिन् । प्रो स्पोर्टस मोडल स्पर्धामा पनि श्रेष्ठले स्वर्ण पदक नै हात पारिन् । 

‘‘मेरो एउटै मात्र लक्ष्य थियो, एक पटक जसरी भए पनि महिला बडि बिल्डिङ च्याम्पियनसीपमा खेल्ने, त्यहि अठोटका साथ अभ्यास गर्ने समयलाई बढाए, त्यहि अनुरुप मैले सफलता हात पार्न सफल भएँ’’ उनले लोकपथलाई बताइन् । 

हंगेरीमा भएको ‘आइएनबिए’, ‘पिएनबिए’ वल्ड च्याम्पियनसीपमा पनि उनले सहभागिता जनाइन् । तर, त्यतिबेला भने उनले पाँचौ स्थानमा चित्त बुझाइन् । 

‘‘मैले पाँचौ स्थान हात पारे पनि मैले म नेपाली हु भनेर सबैलाई चिनाउन सफल भए, त्यतिबेला नेपालको झण्डा बोक्दा मलाई निक्कै गर्व महसुस भएको थियो’’ श्रेष्ठले भनिन् ।
लगतै इन्डोनेशियाको बालिमा सम्पन्न बाली पाराडाइस महिला च्याम्पियनसीपमा स्वर्ण पदक नै जित्न सफल भइन् । 

त्यस्तै, सन् २०१७ मा मंगोलियामा भएको ‘आइएफबीबी’ एशियन च्याम्पियनसीपमा चौंथो स्थान प्राप्त गरिन् । त्यसैवर्ष भएको अस्ट्रेलियन प्रो टाइटलमा रजत पदक, हङकङमा भएको ‘आइएफबीबी’ मिस्टर ओलम्पियाको ‘टप टेन’सम्म पुगेको थिइन् । 

विदेशी भुमि रहेर पनि बडि बिल्डिङमार्फत नेपालको नाम विश्व सामु चिनाएकी प्रा जस्तो थुपै महिला खेलाडीहरु छन् । बडि बिल्डिङ मात्रै हैन् अन्य खेलमा लाग्ने महिला खेलाडीहरुको संख्या पनि उत्तिकै छन् । ती खेलाडीहरुलाई गैरआवासिय संघ र नेपाल सरकारले संरक्षण गर्न सके नेपालले अझै अन्तर्राष्ट्रिय स्तरबाट मेडल भित्र्याउन सकिन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?