कर्णालीमा बाढीपहिरोको कहर : ३३ को मृत्यु, २२ बेपत्ता, ४८० परिवार विस्थापित

लोकपथ
0
Shares

सुर्खेत । कर्णाली प्रदेशभर बाढीपहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।

सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४–४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ ।

डोल्पा र सल्यानमा २–२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

२२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै कालिकोटमा एक प्रहरी जवानसहित २० जना छन् भने जुम्लाका दुई जना र दैलेखका एक जना छन् ।

यसैबीच, बाढीपहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात जना छन् भने मुगु र हुम्लाका ५–५ जना घाइते भएका छन् । यसैगरी, जुम्लाका दुई, रुकुम पश्चिमका एक जना र जाजरकोटका एक जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सयौं घरपरिवार विस्थापित

लगातारको बर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन परिवार विस्थापित भएका छन् ।

यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ परिवार विस्थापित भएका हुन् । यसैगरी, डोल्पाका चार घरपरिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका २–२ घरपरिवार विस्थापित भएका छन् ।

प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्दार र राहत वितरण भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घाइतेहरूको उद्दारको लागि हेलिकोप्टर परिचालन भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?