१०४ वर्षीय लक्ष्मीप्रसाद अधिकारी उर्फ स्वामी अमृतानन्दको अचम्मको कथा

पशुपति वृद्ध आश्रमकै परिसरमा टहलिरहँदा उनी पुलुक्क देखापरे । देख्नासाथ हात हल्लाए ‘हाइ’ भन्ने इशारामा । अनि सरासर आफ्नो कोठातिर लागे । लाग्यो उनीसँग केही कथा छ । कथा बुझ्न हामी उनको पछिपछि लाग्यौं । उनी एउटा कोठाभित्र पसे ।

साँघुरो कोठा । कुनामा एउटा खाट । एकपट्टिको भित्तामा झुन्डिएका रुद्राक्षका माला । अनि, कुन्नि के ले भरिएका पोका पन्तरा । अर्को पट्टिको भित्तामा भगवानका तस्वीर । त्यसको तल्लोपट्टि दबाइको पोको । थोरै ढल्किएको अनुहार मात्र अट्ने ऐना । क्यालेन्डर । सिरानीको ठ्याक्कै माथि टाँगिएको ‘हरे राम हरे कृष्ण’ प्रिन्टेड पिताम्बर । अवीर केसरीको छिटाले रङ्गिएको भित्ता । जुन भगवानलाई मात्रै लागोस् भन्ने उद्देश्यले छेपिएको हो । खाटकै छेउमा एउटा बुढो बाकस । धुलोले छपक्कै छोपेको । त्यसमाथि केही थान धार्मिक पुस्तक । खाटमा बसेर त्यही पुस्तक मध्ये कुन पढौं भनी अल्मलिरहेका एक मनुवा । उमेर १०४ वर्ष । घाँटीमा ३ वटा तुलसीका माला । इस्त्री नपुगेर खुम्चिएको सिल्क जस्तै चाउरिएको छाला । उमेरले गलाएको खिस्रिक्क परेको ज्यान तर, सक्रिय आत्मा । त्यही आत्माको बलले बाहिर भित्र गर्छन् उनी लठ्ठीको सहाराबिना । नाम लक्ष्मीप्रसाद अधिकारी । तर, उनी आफूलाई स्वामी अमृतानन्द भनेर चिनाउन बढी रुचाउँछन् । हामीलाई आफ्नो ढोकामा देख्नासाथ उनले छेउछाउको सामान पन्छाउँदै बस्ने ठाउँ बनाइदिए । हामी बस्यौं । सोध्यौं । सुन्यौं । सिक्यौं । छोटो कुराकानीमा एक शताब्दी लामो उनको यात्रा  कहानी यस्तो छ ।

जन्म : वि सं १९७२ माघ १२ गते  

विगत ५ वर्षदेखि अधिकारी पशुपति वृद्ध आश्रममा बस्दै आएका हुन् । त्यहाँ बस्नु उनको बाध्यता होइन रहर हो । न उनी छोराछोरीको वितृष्णा सहन नसकेर त्यहाँ आएका हुन् न त खान, लाउन नपुग्ने अवस्था भएर नै । उनका दुई छोरा छन् । एक अमेरिकामा, एक जापानमा । समय मिलाएर फोन गर्नेदेखि बाबुको रेखदेखमा लाग्ने खर्च सबै उनीहरुले नै धानेका छन् । ‘यी मसँग फोन छ नि । यसैमा फोन गर्छन् । तर, अनुहार त देखिँदैन यसमा ।’ सिरानीको छेउमा राखिएको नोकिया फोन देखाए ।

अधिकारीका दुई छोरा, ८ नाति नातिनी र ४ खनाति खनातिनी छन् । हातका औंला भाँच्दै यो गणना उनले आफैं गरेका हुन् । कोही विदेशमा, कोही देशमै । देशमा भएका भेट्न आउँछन् । विदेशमा हुने फोन गर्छन् । सँगै बस्न बोलाउँछन् पनि । तर, उनको जवाफ सधैं ‘नाईं’ ।

‘किन त्यस्तो ? परिवारसँग बस्न मन लाग्दैन ?’

‘लाग्दैन ।’ हाम्रो ६ शब्दको प्रश्नलाई उनको एक शब्दको उत्तरले पूर्णविराम लगाइदियो । 

परिवारसँग बस्न मात्र होइन उनलाई धेरै समय एकै ठाउँ बस्न समेत मन लाग्दैन । भन्छन् ‘धेरै समय एकै ठाउँ बस्यो भने माया बढ्छ । माया मोहमा अल्झिनु हुन्न ।’ त्यसैले उनी ठाउँ ‘चेन्ज’ गरिरहन्छन् । दिल्ली, देवघाट हुँदै अहिले पशुपति । ‘यहाँबाट पनि हिँड्छु अब । धेर भो बसेको ।’ उनले यो कुरा यति सजिलै भने मानौं उनी २० वर्षका घुमन्ते लक्का जवान हुन् । 

उनका हरेक कुराले अचम्मित बनाइरहेका बेला उनले अर्को अचम्मको पोको खोले । ‘म त ९ वर्षदेखि नै घर छोडेर हिँडेको हो नि त ।’ 

…त्यसपछि म टुहुरो भएँ

म घरको कान्छो छोरो । ममाथि तीन दाजु एक दिदी । यहीँ बाँसबारीमै जन्मेको । अहिले त सबै भगवानको घर गइसके म मात्र बाँकी छु । ८ वर्षको हुँदा बुबा खस्नुभो । ११ को हुँदा आमा । त्यसपछि म टुहुरो भएँ । ९ वर्षको हुँदादेखि नै घरमा नबसेको म । भारत गएँ । दिल्लीको गुरु दरबार भन्ने ठाउँमा । ३ मुरी चामलको त जाउलो मात्र पाक्थ्यो त्यहाँ । जोगीहरुको सङ्गत गरेँ । गुरुको सेवा गरेँ । परमाहंश सद्गुरु हो गुरुको नाम (केही बेर सम्झिँदै) । धेरै कुरा सिकेँ, जानेँ । जम्मा ५ वर्ष बसेँ अनि फेरि नेपाल नै फर्किएँ । स्कुल गाको छैन तर, धार्मिक किताबहरु सबै पढ्छु । सानैदेखि यसरी नै बाहिरबाहिर हिँड्ने बानी भयो । एक ठाउँ बस्नै मन लाग्दैन । बिहे गरेपछि त घर बसिन म । 

‘मलाई केटीपट्टिबाट विवाह प्रस्ताव आयो’

सानै उमेरदेखि साधुसन्त, योगी तपस्वीको सानिध्यमा रहेर होला अधिकारीलाई विवाह गर्ने, गृहस्थ जीवन सँगाल्ने मनोविचार कहिल्यै आएन । आजभन्दा करिब ७÷८ दशक अघिको परिवेशमा ३२ वर्षसम्म अविवाहित बस्नुले पनि यही सङ्केत गर्छ । अविवाहित बस्ने योजना बुनिसकेतापनि उनले बुनेको योजनाको एक त्यान्द्रो डोरी तान्ने काम गरे हरेराम गुरुले (पशुपतिका गुरु) । उनले अधिकारीलाई विवाहको लागि ‘कन्भिन्स’ गरे । त्यसैगरी, अर्को त्यान्द्रो डोरी तान्ने काम गरे उनका परिवार(दाजु भाउजु)ले । अधिकारीले पनि शुरुमा त तानिएको डोरी समेट्दै आफ्नो योजनालाई फुस्किन दिएनन् । तर, केटीपट्टिबाट नै विवाहको प्रस्ताव आइसकेपछि उनले धेरै प्रहर नकार्न सकेनन् । त्यसताका उनी पशुपतिमा बस्थे । केटी र उनकी आमा पनि भजनकीर्तनका लागि मन्दिर आइरहने । सोही क्रममा भएको चिनजानलाई सम्बन्धमा परिणत गर्न केटीकी आमाले विवाहको प्रस्ताव राखिन् । अन्ततः विवाह हुने भयो ।

यी कुरा हुँदै गर्दा उनको अचम्मको पोकोबाट अर्को अचम्म तब फुत्कियो जब उनले आफ्नो र आफ्नी दुलहीको उमेर बताए । विवाह हुँदा उनी ३२ वर्षको थिए, उनकी दुलही ९ । 

‘नाम याद छ उहाँको ?’

‘छ नि । तेजकुमारी ।’  

तर अहिले ऊ भगवानकोमा गइसकी । उनले थपे ।   

अधिकारीले ९ वर्षकी तेजकुमारीलाई दाजुको घरमा भित्र्याए । हुन त त्यसबेला दुलहादुलहीको उमेरमा धेरै वर्षको फरक हुनु नौलो कुरा थिएन । यद्यपी अहिले ती कुराहरु सुन्दा एकादेशको कथा जस्तै लाग्छन् । 

विवाहले पनि मलाई बाँध्न सकेन

‘विवाहपछि चाहिँ पहिले जस्तो हिँड्दैन । यसको मन बाँधिन्छ ।’ सबैले यही सोचे । तर, अधिकारीको जीवनचर्यामा रत्ति पनि परिवर्तन आएन । उनी उसै गरी हिँडे । उसै गरी परिवारभन्दा टाढै बसे र आफू आफ्नै निकट बसे ।

विवाहको ५ वर्षपछि पहिलो छोरा जन्मिए, माधव । त्यसको केही वर्षपछि अर्को छोरा, मुकुन्द । श्रीमतीको मायाले बाँध्न नसकेको अधिकारीको मन छोराहरुको मायाले समेत बाँध्न सकेन । त्यसैले दाजुभाउजुको सहायतामा तेजकुमारीले छोराहरु आफैं हुर्काइन् । ‘बेलाबेलामा घर जान्थेँ भेट्नलाई । बुढियाले साह्रै दुःख गरी । बरु अहिले भगवानकोमा सुख छ होला उसलाई ।’ उनको चाउरिएको छालाले बनाएको बाटामा प्रष्टै भावहरु दगुरे । श्रीमतीकै कारण आज छोराहरुको जीवन सुखमय र व्यवस्थित भएको उनी बताउँछन् । 

‘मेरा लागि जहाँ बस्यो उही घर’

जीवनभर कति ठाउँ सर्दै बसेँ भनेर अधिकारीलाई हेक्का छैन । भन्छन् ‘मेरा लागि जहाँ बस्यो उही घर’ । १०४ वर्षको भइसक्दा पनि उनी आरामले बाहिरभित्र गर्न सक्छन् । ढल्कँदो उमेरले निम्त्याउने हात खुट्टा ढाड दुख्ने, हाड, जोर्नी दुख्ने जस्ता सामान्य स्वास्थ्य समस्या बाहेक कुनै किसिमका रोगहरुबाट संक्रमित छैनन् । ‘यी यस्तो दबाइहरु छ मेरो ।’ भित्तामा झुन्डाइएको झोलाबाट औषधि निकाल्दै खाटमा छरे ।   

उनको दैनिकी पनि ठिकठाक चल्दैछ । बिहान ३ बजे उठेर २ घण्टा पाठ गर्छन् । आफ्नो नित्य कर्म सकेर ५ बजे पूजाआजा गर्छन् । त्यसपछि खाना खाएर दिनभरि धार्मिक पुस्तक, जप, पाठ मै घोत्लिरहन्छन् । ५ बजेतिर बेलुकाको खाना तयार हुन्छ । साह्रो खाना खान नसक्ने भएकाले दाल, जुस र फलफूल नै उनका आहारा हुन् । 

लोभ, लालच, सम्पत्ति, माया, मोहबाट जीवनभर अलग्गै बसेका अधिकारी आफ्नो १०४ वर्ष लामो जीवन यात्रादेखि सन्तुष्ट छन् । 

‘यो नगरेको भए हुन्थ्यो वा यो चाहिँ गर्न पाइन भन्ने केही छ ?’

‘छैन ।’ फेरि पनि उस्तै सटिक जवाफ । 

उनीसँगको कुराकानीपछि मन मुस्कुरायो अनि एउटै वाक्य बोल्यो ‘लक्ष्मीप्रसाद हाम्रा धरोहर हुन् । यति उमेरको मनुवालाई भेट्ने मौका अबको जेनेरेसनको लागि लगभग ‘उटोपिया’ नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?