राजापुरका ८ सय घर डुबानमा : सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

लोकपथ
78
Shares

काठमाडौं । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णाली नदिको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन् । स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ । अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले बताए ।

कर्णालीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको गुनासो गरे । उनले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको बताएका छन् । त्यस्तै, बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमवार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घरहरु डुबानमा परेको बताए । उनले नदीमा पानीको बहाव बढीरहेकाले झनै समस्या थपिएको गुनासो गरेका छन् । अन्य स्थानीहरु भने अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित छन् ।

गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने स्थानीयले बताए । उनीहरु गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको बताएका छन् ।

अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लाहरुमा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ । गत ५ दिन यता भइरहेको भीषण वर्षाले देशभरका पहाडी जिल्लाहरुमा पनि पहिरोको जोखिम बढाएको छ । खहरे खोलामा आएको बाढी र विभिन्न स्थानमा गइरहेको पहिरोका कारण सवारी आवतजावतमा पनि समस्या भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले शतर्कता अपनाउन आग्रह गरेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?