अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लियो

लोकपथ
78
Shares

काठमाडौं । अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ । नेपाल राष्ट्र बैंकले सोमवार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९ दशमलव ५४ र अधिकतम १० दशमलव ९७ प्रतिशत कायम भएको छ ।

केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र २६५ दिने ट्रेजरी बिल्सको ब्याजदर सबैको १० प्रतिशतभन्दा माथि रहेको छ । यसबाट के स्पष्ट हुन्छ भने बजारमा ब्याजदर निकै माथि उक्लिसकेको छ र अब बजार आफैं करेक्सन नभईकन ब्याजदर नियन्त्रण गर्न कठिन छ भन्ने बुझाउँछ ।

राष्ट्र बैंकले नवीकरण गरेको ट्रेजरी बिल्समध्ये ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १० दशमलव १४ प्रतिशत कायम भएको छ भने १८२ दिनको १० दशमलव ६ प्रतिशत कायम भएको छ । त्यस्तै, ३६५ दिने ट्रेजरी बिल्सको ब्याजदर १० दशमलव ५ प्रतिशत कायम भएको छ ।

ब्याजदर बढी भएपछि राष्ट्र बैंक ३६५ दिने २ अर्ब ६० करोडको ट्रेजरी बिल्स आफैं किन्न बाध्य भएको छ । बैंक तथा वित्तीय संस्थाले भने जम्मा ४० करोड बराबरको ट्रेजरी बिल्समा मात्र लगानी गर्न पाएका छन्। उनीहरूले जम्मा १० दशमलव ५ प्रतिशतमा लगानी गरिरहेका छन् ।

राष्ट्र बैंकले गत सोमवार १८ अर्ब २४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्न चाहेको थियो । त्यसमध्ये ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्बको ९१ दिने २ अर्ब २५ करोडको १८२ दिने र ३ अर्ब रुपैयाँ बराबरको एक वर्षे रहेको थियो ।

गत असोजदेखि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर १० दशमलव १३, रेमिट्यान्स मुद्दतीको १५ दशमलव १३ र साधारण मुद्दतीको ब्याजदर १२ दशमलव १३३ प्रतिशतसम्म पुर्‍याएकाले त्यसको असर अल्पकालीन ब्याजदरमा पनि परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?