कैलाली–४ : दुई पूर्वमन्त्रीकै कडा टक्कर, बलायर र भट्टमध्ये को बलियो ?

काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र–४ मा दुई पूर्वमन्त्रीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् ।

पूर्वमन्त्री समेत रहेका बलायरले कैलाली–४ बाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । बलायरलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

बलायरसँग नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको प्रतिस्पर्धा हुनेछ । कैलाली–४ मा यी दुई ‘हेभीवेट’ नेताको उम्मेदवारी परेसँगै यसक्षेत्रमा रोचक चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यसअघि बलायर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा डोटीबाट निर्वाचित भएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए । २०७४ को निर्वाचनमा भने उनी पराजित भए । हाल उनी नेपाली कांग्रेसका प्रदेश सभापति रहेका छन् ।

सत्ता गठन्धनबाट डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आले उम्मेदवार बन्ने भएपछि बलायर कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन् । बलायरले यसक्षेत्रमा पार्टीले टिकट दिएर पठाए पनि आफ्ना लागि नयाँ क्षेत्र नभइ परिचित रहेको बताएका छन् ।

‘मैले जीवनको लामो समय यही क्षेत्रमा बिताएको छु,’ उनी निर्धक्क सुनिन्छन्, ‘यहीँ रहेर पार्टी संगठनको काम गरेको छु । यो मेरो नयाँ नभइ परिचित क्षेत्र हो ।’ उनीसँग एमालेका सचिव नेता लेखराज भट्ट चौँथो पटक चुनावी मैदान भिड्न लागेका छन् । नेता भट्ट २०७० को निर्वाचनमा कांग्रेस नेता दीर्घराज भाटसँग कैलाली–४ बाटै पराजित भएका थिए ।

२०६४ र २०७४ निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट उनी विजयी भए । भट्ट तत्कालीन नेकपाका तर्फबाट निर्वाचित भएका थिए । दुईपटक माओवादी केन्द्रबाटै सांसद भएर एक पटक मन्त्री बनेका भट्ट यसपटक एमालेबाट उम्मेदवार भएर मैदानमा उत्रिएका छन् । नेकपा विभाजनपछि माओवादी केन्द्र छोडेर एमाले रोजेका भट्ट एमालेबाट पहिलोपटक चुनाव लड्न लागेका हुन् ।

गठबन्धनको तर्फबाट प्रदेशसभा (क) मा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर बमले उम्मेदवारी दिएका छन् ।

यसक्षेत्रमा नेकपा एमालेबाट प्रदेशसभा (क) भिमबहादुर देउवा र प्रदेशसभा (ख) मा हरीसिंह साउँदले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कैलाली–४ मा प्रतिनिधि सभातर्फ एक स्वतन्त्र र नौ राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन् ।

कैलाली– ४ को प्रदेश सभातर्फ (क) मा ६ स्वतन्त्र र सात राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, (ख) मा २ जना स्वतन्त्र र चार राजनीतिक दलका गरी ६ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । तर, मुख्य प्रतिस्पर्धा ०७४ मा झैँ नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका लेखराज भट्टबीच नै हुने देखिएको छ ।

एजेण्डा उस्तै 

०७४ अघिका निर्वाचनमा शान्ति र संविधान निर्माणको प्रमुख एजेण्डा बोकेका राजनीतिक दलका नेताहरुले अहिले भने विकास निर्माणका एजेण्डालाई प्राथमिकतामा रहेको बताउन थालेका छन् । ०७४ यताका निर्वाचनमा उनीहरुका कुनै नयाँ फरक एजेण्डा छैनन् । उहीँ पुरानै एजेण्डा लिएर जनता माझ जाने योजनामा छन् ।

उम्मेदवारको मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टले आफूले संविधानको कार्यान्वयन र विकास निर्माणका एजेण्डालाई अगाडि लैजाने बताए ।

‘पार्टीले मलाई फेरिपनि यो अवसर दिएको छ,’ भट्टले भने ‘गत ०७४ को निर्वाचनमा पनि यो क्षेत्रका जनताले यो देशको नीति निर्माण गर्न जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी सँगसँगै यो क्षेत्रको विकासको जिम्मेवारी पनि थियो । मैले त्यसलाई पालना गर्ने, निर्वाह गर्ने प्रयत्न गरेर अहिलेपनि पार्टीले एउटा विश्वास गरेर यो जिम्मेवारी दिएको छ ।’

त्यसैले यस क्षेत्रका जनताले आफूलाई योगदान र जनताप्रतिको समर्पण, इमानदारितालाई मूल्यांकन गर्नेमा उनी विश्वस्त छन् । ‘मैले सम्पूर्ण मतदाताहरु जुनसुकै पार्टीसँग जोडिएका भएपनि मलाई विजय गराउँछन् भन्ने आत्म विश्वास छ,’ उनले भने ।

फेरिएको परिवेश

कैलाली ४ का मुख्य प्रतिस्पर्धी पुरानै भएपनि परिवेश फरक छ । ०७४ मा भट्टले वाम गठबन्धनको साथ पाएका थिए । त्यसबेला नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनलाई नेकपा एमालेको समर्थन थियो । कैलाली–४ बाट ०७४ को निर्वाचनमा भट्टले ३१ हजार ३ सय ५९ मतका साथ विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीे २० हजार ९ सय ६० मत ल्याएर पराजित भए । निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ०७६ मंसिर ५ गते भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत बने ।

नेकपा विभाजनपछि माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका भट्टको सांसद र मन्त्री पद खोसिएका थियो । त्यसयता यसक्षेत्रले पनि संघीय सदनमा प्रतिनिधि पाएन ।

०६४ देखि संघर्षमा बलायर

यसअघि कांग्रेस नेता कार्यकर्ताहरु चुनावी तालमेलको विरुद्धमा रहेको बताउँदै आएका नेपाली कांग्रेस सुदूरपश्चिम सभापति तथा पूर्व मन्त्री बलायर अन्ततः गठबन्धन दलकै बाहुबलीमा निर्वाचनमा होमिएका छन् ।

‘गठबन्धनले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ, देशको सही नेतृत्व गर्न सक्नुपर्छ, महंगीको मारमा परेका जनतालाई राज्यले सहुलियत दिनुपर्छ’, नेता बलायरले गठबन्धन हुनु अघि भनेका थिए, ‘चुनाव जित्नका लागि मात्रै गठबन्धन गर्नुको कुनै अर्थ छैन । डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ ।’

तर, डोटीबाट कैलाली–४ मा झरेका बलायरलाई अबको चुनावी यात्रामा यही बोली सुल्झाउन आफैँलाई संकट निम्तिएको छ । कांग्रेस एक्लैले सजिलैसँग चुनाव लड्न सक्ने जिल्लामा अरुलाई नेतृत्व दिनु कार्यकर्ता र जनताप्रति अन्याय हुनेछ । ‘जिल्लामा हामीलाई चुनावी तालमेल गर्नु जरुरी छैन, यदि केन्द्रले जवरजस्ती लाग्न खोज्छ भने त्यो दुर्भाग्य हुन्छ,’ उनले भनेका थिए ।

कांग्रेस उम्मेदवार वीरबहादुर बलायर यसअघि डोटीमा तीन पटक चुनाव भिडिसकेका छन् । यसपटक डोटी छोडेर कैलाली झरेका बलायरलाई एकातिर गठबन्धन दलको साथमा लिएर जानुपर्ने उनीसामू चुनौती छ भने, अर्कातिर कैलाली–४ मा कांग्रेसबाट टिकटको दौडाहमा रहेका कांग्रेसका पुराना नेता सुनिलकुमार भण्डारीलाई सन्तुष्ट बनाएर जानुपर्ने अवस्था छ ।

उसो त बलाएर राजनीतिमा परिपक्व नेता नै हुन् । राननीतिक शक्ति सन्तुलनमा राख्न रणनीतिक योजनामा पोख्न नेताका रुपमा बलायर परिचित छन् । उनी यसअघि कांग्रेस जिल्ला सभापति हुँदै केन्द्रीय सदस्यसमेत बनिसकेका प्रभावशाली नेताका रुपमा पनि चिनिन्छन् ।

२०३३ सालबाट विद्यार्थी राजनीतिमा होमिएका बलायर २०३६ सालयता पार्टी राजनीतिमा सक्रिय छन् । साढे ३ वर्ष बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता हुन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा डोटीबाट चुनाव लडेका उनी पराजित भए ।

२०७० को संविधानसभा निर्वाचनमा भने उनी डोटी–१ बाट निर्वाचित भए । २०७४ को निर्वाचनमा बलायर फेरि उम्मेदवार बने तर, नेकपा एमालेका प्रेमबहादुर आलेसँग पराजित भए । ३२ हजार ५१० मतसहित आले विजयी हुँदा बलाएर ३० हजार ८७८ मतमै सीमित हुन पुगे ।

२०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा बलायर भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए । बलायरले हालसम्म ३ वटा संसदीय चुनाव लडे, जसमा एक पटक सफल भए भने २ पटक हार व्यहोर्नु परेको छ । भट्टसँग बलायर पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

यस्तो छ मतभार

गत बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यस क्षेत्रअन्तर्गत नेपाली कांग्रेसले गोदावरी नगरपालिकाको मेयर, गौरीगंगाको उपमेयर र चुरे गाउँपालिकाको उपाध्यक्ष जितेको छ । नेकपा माओवादीले गौरीगंगाको मेयर जितेको छ । नेकपा एमालेले गोदावरीको उपमेयर र चुरे गाउँपालिकाको अध्यक्ष जितेको छ ।

गोदावरीमा कांग्रेसले ८, एमालेले ४ वडा जितेको छ भने एक स्वतन्त्रले जितेको छ । त्यस्तै, गौरीगंगामा ६ वडा कांग्रेस, ४ वडा माओवादी र १ समाजवादीले जितेको छ । चुरेमा २ कांग्रेस र ४ वडा एमालेले जितेको छ ।

गत स्थानीय तहमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामअनुसार नेपाली कांग्रेस २२ हजार ९९७ मतसहित पहिलो भएको छ । त्यसैगरी नेकपा एमाले २० हजार ८१ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले १० हजार १२३ ल्याउँदा नेकपा (एकीकृत समाजवादी) ४ हजार २९ मत ल्याएर चौँथो दलको रुपमा आफूलाई उभ्याएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ३ हजार २३४, नागरिक उन्मुक्ति पार्टीले १६४ र जनता समाजवादीले ६४ मत ल्याएका छन् । तीनवटै पालिकामा गठबन्धनका उम्मेदवारले पाएको मत हेर्दा यस क्षेत्रमा गठबन्धनका उम्मेदवार अघि देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?