काठमाडौं–५ मा पौडेल र पोखरेलको प्रतिस्पर्धा, कसलाई कति सहज ?

लोकपथ
13.8k
Shares

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै देश चुनावमा होमिएको छ । मुख्य राजनीतिक दलहरु गठबन्धन र तालमेलबाट निर्वाचनमा होमिएका कारण माहोल थप रोचक बन्दैछ ।

यसवर्ष धेरैजसो स्थानमा युवा उम्मेदवारहरु चुनावमा होमिएका कारण चासोको विषय बनिरहेको छ । यही चासोको केन्द्रमा छ काठमाडौं क्षेत्र नम्बर ५ पनि ।
यहाँ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् । यस्तै, उनको प्रतिस्पर्धीको रुपमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।

पहिलोपटक प्रतिनिधि सभामा निर्वाचन लड्न लागेका पौडेल र ०७४ को निर्वाचनमा यही क्षेत्रबाट संसद छिरेका पोखरेलबीच आगामी निर्वाचन रोचक बन्ने देखिन्छ ।
यद्यपि, पटक–पटक जनताको परीक्षणमा परिसकेका पोखरेलको विकल्प क्षेत्र नम्बर ५ का जनताले खोजिरहेका छन् । २०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ सालमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसैले युवा उम्मेदवार पौडेलले इश्वरमाथि ब्रेक लगाउन सक्ने धेरैको विश्लेषण छ ।

तैपनि, पछिल्लो समय एमालेले ५ नम्बर क्षेत्रलाई आफ्नो पकडका रुपमा लिने गरेको छ । जसलाई वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा सो क्षेत्रका वडाध्यक्षहरुले प्राप्त गरेको मतले पुष्टि गर्छ । जसमा एमालेका वडाध्यक्षहरुले १९ हजार ७ सय ३ मत प्राप्त गरेका थिए भने यता कांग्रेसका उम्मेदवारहरुले १४ हजार ८ सय ५३ मत ल्याएका थिए । त्यस्तै, एकीकृत समाजवादीले १ हजार ८ सय २७, माओवादी केन्द्रले १ हजार १ सय ६८ मत प्राप्त गरेका छन् ।

गठबन्धन र एमालेले स्थानीय निर्वाचनमा प्राप्त गरेको समग्र मतको विश्लेषण गर्दा भने बराबरी हुन आउँछ । अर्कोतर्फ यो क्षेत्रमा केही चर्चित स्वतन्त्र उम्मेदवारहरु समेत चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले पनि केही मत काट्ने हुँदा पौडेल र पोखरेल दुवैले कसरत गर्नुपर्ने देखिन्छ । तर, यो क्षेत्रबाट सांसद भएर मन्त्री हुँदा समेत उल्लेखनीय काम गर्न नसकेको आरोप पोखरेलमाथि छ । त्यसैले पोखरेलबाट ५ का मतदाता रुष्ट छन् । पौडेलले ती रुष्ट मतदाताको मन जित्न सक्लान् ? यदि सके भने उनका लागि चुनाव सहज हुने धेरैको आँकलन छ ।

विगतमा कांग्रेसको पकड

२०७४ को निर्वाचनमा पोखरेलले जित हासिल गरेपछि यो क्षेत्रलाई वामपन्थीको किल्लाका रुपमा समेत चर्चा गरियो । यद्यपि, विगतको पृष्ठभूमीलाई नियाल्ने हो भने यो क्षेत्र कांग्रेसको राम्रो पकड मानिएको क्षेत्र हो । किनकी यही क्षेत्रबाट कांग्रेस नेता नरहरी आचार्यले दुई–दुई पटक संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । तर, ०७४ को निर्वाचनमा आचार्य अस्वस्थ भएसँगै कांग्रेसबाट डा. प्रकाशशरण महत उम्मेदवार बनेका थिए ।

एकातिर नयाँ उम्मेदवार भन्ने आरोप अर्कोतिर वाम गठबन्धनका कारण पनि नरहरीको विरासत महतले जोगाउन सकेनन् । कांग्रेसबाट नरहरी आएको अवस्थामा पोखरेलले जित्न नसक्ने धेरैको बुझाइ थियो । एकातिर आचार्य नभएको र अर्कोतिर वाम गठबन्धनका कारण निरन्तर जित्दै आएको क्षेत्र कांग्रेसले गुमाउन पुग्यो ।

तर, स्वास्थ्यलाभ गरिरहेका आचार्य यसपाली कांग्रेस जिताउन प्रचारमा हिँड्नेछन् । आचार्यको सक्रियता बढेको अवस्थामा पौडेललाई सहज हुने ५ का केही कांग्रेस नेताहरुको धारणा छ ।

पौडेलले मतदातालाई विश्वस्त पार्न आवश्यक

पौडेल नेपाली राजनीतिको कठिन समयमा विद्यार्थी आन्दोलनबाट जन्मिएका नेता हुन् । २०४६ सालको जनआन्दोलनमै सहभागि भएका पौडेलले २०६२–०६३ को जनआन्दोलनमा सक्रिय सहभागिताले उनलाई थप राजनीतिक उचाईमा पुर्यायो ।
नेपालमा गणतान्त्रिक आन्दोलन चल्दै गर्दा नेपाल विद्यार्थी संघको अध्यक्ष भएर देशभर पुगेका पौडेलका लागि देशका कुनै पनि निर्वाचन क्षेत्र नौलो होइन । अझ काठमाडौं क्षेत्र नं ५ त्यस बेलाको आन्दोलनको आधार इलाका भएका कारण पनि यहाँका मतदाताका लागि पनि नयाँ अनुहार होइन ।

विद्यार्थी राजनीतिबाट उदाएका कारण आम युवाहरुको आवाज बोक्न सक्ने क्षमता पौडेलमा छ । उसो त युवामाझ परिचित छन् । साथै, आम मतदातालाई प्रभावित पार्न सक्ने क्षमताका कारण पौडेललाई थप सहज हुने देखिन्छ ।

अर्को कुरा पौडेलमाथि आजका दिनसम्म कुनै पनि राजनीतिक आरोप र दाग लागेको छैन । जसकारण पनि मतदातासमक्ष आफ्ना कुरा प्रष्टसँग राख्ने ल्याकत पौडेलसँग छ ।

तर, पटक–पटकको निर्वाचनमा उम्मेदवार परिवर्तन भइरहँदा यस क्षेत्रका कांग्रेस कार्यकर्तामा आएको वितृष्णालाई पौडेलले चिर्न सक्नुपर्छ । किनकी, आचार्य अस्वस्थ भएसँगै ०७४ मा महत अनि अहिले पौडेल यस क्षेत्रमा उम्मेदवार बन्दा पौडेलसहित गठबन्धनका उम्मेदवारहरुले आफूहरु टुरिस्ट उम्मेदवार नहुने आभास मतदातालाई बुझाउन सक्नुपर्छ ।

त्यसो हुन सकेमा पौडेलका लागि यसपाली संसदको ढोका खुल्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?