पूर्वसैनिकलाई थुनामा राखी २० लाख घुस माग्ने असर्इ र प्रहरी जवान फन्दामा

काठमाडौं, १ कात्तिक – बर्दीको आडमा सजिलै पैसा कमाउन खोज्ने प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह यतिबेला अख्तियारको हिरासतमा छन् । आर्थिक लेनदेनको झूटो व्यहोरा देखाएर जबर्जस्ती पीडित खडा गरी एक पूर्वसैनिक हवल्दारबाट पाँच लाख घुस लिएको प्रमाणसहित उनीहरू पक्राउ परेका हुन् ।धनकुटा घर भई हाल काठमाडौं टोखा बस्दै आएका नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झूटो मुद्दा खडा गरेर १५ देखि २० लाख रुपैयाँ असुल्ने दाउमा थिए भाट र शाह । देवानकी पत्नी विनिताले आफूसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएपछि भाट र शाहको योजना चकनाचुर मात्रै भएन उनीहरू सेवाबाट बर्खास्तीको मुखमा पुगेका छन् । अख्तियारले भाट, शाह, बालुवा डिपो प्रमुख थापा र बालाजु वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।घटनामा संलग्न महानगरीय प्रहरी प्रभाग फर्पिङमा कार्यरत प्रहरी हवल्दार मनोज यादव भने फरार छन् । अख्तियारको हिरासतमा रहेका थापाले आफ्नो डिपोमा भाटलगायत प्रहरीले लेनदेन गर्ने गरेको र देवानबाट पनि जबर्जस्ती पैसा मागेको बयान दिएका छन् । डीएसपी भण्डारीले भने देवान पक्राउ परेको जानकारी आफूलाई थाहा भए पनि पैसा मागेको विषयमा अनभिज्ञ रहेको बयान अख्तियारलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?