‘कहीँ नभाको जात्रा’को कथा

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट  तीन दिनसम्म  काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँका स्थानीयले ‘कहीँ नभाको जात्रा’ (सत्यनारायण जात्रा) मनाउँछन् । काठमाडौंको हाँडीगाउँ आफ्ना अनौठा जात्रा र प्राचिन संस्कृतिका लागि प्रसिद्ध छ। जात्राले स्थानीय बासिन्दालाई सुरक्षा र समृद्धि दिने विश्वास गरिन्छ। हाँडीगाउँका स्थानीय बासिन्दाहरूले उत्साह, भोज भतेर र सांस्कृतिक नृत्यहरू बीच जात्रा मनाउँछन्।

किम्बदन्ती
किम्बदन्ती अनुसार पुरातन समयमा एक रानी र उनकी कान्छी बहिनी थिइन्। दुई दिदी बहिनी मध्ये दिदी नास्तिक थिइन् भने बहिनी आस्तिक थिइन्। उनीहरु गर्भवती भएको समयमा दिदी प्रसव पीडाले छटपटाउँदा बहिनीले भगवान नारायणले बच्चा जन्माउन सहज बनाईदिनुहुन्छ भन्दै नारायणलाई सम्झीन आग्रह गर्दा दुईबीच यहि विषयमा ठुलो बहस भयो । नकारात्मक प्रतिक्रिया दिंदै बच्चा जन्माउन भगवान नारायणको त्यस्तो कुनै आवश्यकता नभएको तर्क रानीले गरिन् र घमण्ड गरिन्।

भगवान नारायणले रानीले अपमान गरेकीले क्रोधित महसुस गरे र हिमालय गएर तपस्यामा रहे। ती रानीले १२ वर्षसम्म कुनै सन्तान जन्माउन सकिनन् जबकि उनकी बहिनीले निर्धारित मितिमा बच्चा जन्माइन् । यो कुरा राज ज्योतिषी समक्ष उठाइयो र ज्योतिषीले भगवान नारायण हिमालयमा हुनुहुन्छर उनलाई नेपाल मण्डलमा फिर्ता ल्याउन सकिए मात्र रानीले सन्तान जन्माउन सक्ने भन्ने निष्कर्ष निकाले । त्यसपछि भगवान विष्णुलाई उहाँ नेपाल मण्डल आउन राजी भएमा कहीं नभएको सबैभन्दा ठूलो जात्रा मनाउने भनेर उनीहरुले बाचा गरे , त्यसपछि जात्राको समयमा सहर घुम्न भगवान बिष्णु राजी हुनुभयो । जात्रा घुम्न आएका भगवान विष्णु प्रसन्‍न भएपछि रानीले अन्तत: छोरा जन्माउन सफल भइन् । त्यसबेलादेखि यही विश्वासमा जात्रा मनाउन थालिएको हो । किंबदन्ती अनुसार १२ वर्षको लामो समयपछि बच्चा जन्मिएको हुनाले नवजात शिशुको जुँगा रहेको जनश्रुति रहदै आएको छ।

हाँडीगाउँको सत्यनारायण जात्रालाई किन ‘कहीँ नभाको जात्रा’ भनिन्छ ?

अन्य जात्राहरूमा तानिने रथहरू भन्दा फरक, सत्यनारायण जात्रामा पाङ्ग्रा बिनाका तीनवटा खटहरू भक्तजनहरूले काँधमा बोकेर घुमाउने गर्छन । जात्रामा प्रयोग गरिने खट उल्टो छाताको आकारको हुन्छ भने माथि विभिन्न देवताहरूको मूर्तिहरू हुन्छन् र गजुर भने तल हुन्छ। हाँडीगाउँका कोटल टोल, न्याल्मा टोल र भीमसेन टोलबाट तीनवटा रथ (खट) निकालेर हाँडीगाउँको तीन पटक परिक्रमा गर्नुअघि पुजारीहरूले पूजा गर्छन्। दशैंको दोस्रो दिनदेखि जात्राको तयारी सुरु हुन्छ र पुजारी परिवारले जात्राको लागि अनिवार्य मानिने मैनको फूल बनाउन थाल्दछन्। त्यसपछि शिवपुरीबाट अन्य भेटीसहितका फूलहरू ल्याएर पुजारीको घरबाट भगवानका मूर्तिहरूलाई चढाइन्छ र खटको शीर्षमा राखिन्छ। किम्बदन्ती अनुसार प्रत्येक खटले ब्रह्मा, विष्णु र महेश्वरको प्रतिनिधित्व गरेको मानिन्छ भने कतिपयले तीनवटा खटले ती रानी उनका बच्चा र पतिको प्रतिनिधित्व गर्छन् भन्ने विश्वास गर्छन्। जात्रापछि रथहरू पूजा गर्नेहरूका लागि एकदिनसम्म छोडिन्छ भने देउताका मुर्तिहरुलाई बोकेर सम्बन्धित मन्दिरमा लगिन्छ। यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेको छ। प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने विश्वास गरिन्छ भने नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने जना विस्वास छ।ब्रह्मा, विष्णु र महेशको पूजा, आराधना गरी टोलटोलमा रथ घुमाएर मनाइने यो जात्रा विगतमा भने रातको समयमा मात्र मनाइने गरिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?