वृद्धाश्रमका आमाबुबाको बिलौना : दशैँमा दाल हैन मासु पस्किदिओ न !

दशैँले छपक्कै छोप्यो । व्यापारीदेखि जागिरे । फुटपाथे दोकानदेखि ठूल्ठूला मललाई । हरेक गल्ली हरेक चोकलाई । जे होस्, वातावरण दशैँमय छ । तर लोकपथले दशैँले नछोएको एउटा कथा फेला पारेको छ । पशुपति वृद्ध आश्रमको  । 

वातावरण सामान्य छ । 

अरुबेला जस्तै । 

कोही बाती काट्न व्यस्त, कोही एकैठाउँ भेला भएर गफ गर्न मस्त । 

जे होस् सबैजना आआफ्नै धुनमा मग्न देखिन्थे । 

अलि पर गुन्द्री ओछ्याएर घाम तापिरहेका थिए तुलामाया पुरी र पफा कार्की ।


‘आमा दशैँ कतिको लाग्यो त ?’ हामीले प्रश्न राख्यौं । उनीहरु एकाएक खुम्चिए । उत्तर आयो ‘कस्तो न कस्तो ।’

‘हाम्रा लागि के दशैँ, के संक्रान्ति । के चाडपर्व, के सामान्य दिन ।’ तुलामायाले थपिन् । 

तुलामाया पुरी, ७४ वर्षीय बृद्धा हुन् । उनी पटक्कै खुसी छैनन् । दशैँ उनको मनलाई उमङ्गित पार्न असमर्थ छ । रामेछाप घर भएकी तुलामाया विगत ८ वर्षदेखि आफ्ना पतिसँगै पशुपति वृद्ध आश्रममा बस्दै आएकी छिन् । उनका छोराछोरी छैनन् । भन्छिन् ‘नभएकै राम्रो भयो । खै भकाहरु पनि यहीँ आएर बस्नु परेको छ ।’ अरु बेला जेजस्तो भएपनि दशैँका बेला भने उनलाई आफ्नो बालयकालको साह्रै याद आउँछ । ‘दशैँ आउन लाग्यो भन्नासाथ धानचामल कुटाउँथ्यौं, ऋण गरेर भएनि बाउआमाले खसी किन्थे, नयाँ लुगा किन्दिन्थे । नयाँ, राम्रो लुगा लाउन पाउने भनेकै दशैँको बेला त हो । अहिले कहाँ त्यस्तो हुन्छ र ?’ आफ्ना पुराना दिनहरु याद गर्दै उनी भावुक भइन् । 

‘अहिले त के हुनु नि दाल भात खायो त्यही हो दशैँ ।’ छेउमै बसेकी पफाले आफ्नो मौनता तोडिन् । उनका अनुसार विगत केही वर्षदेखि पशुपति वृद्ध आश्रममा न खसी काटिन्छ न त दशैँमा मीठोमसिनो नै बनाएर दिइन्छ । पफा कार्की, १० वर्षदेखि पशुपति वृद्ध आश्रममै बस्छिन् । उनी अविवाहित हुन् । बाबुआमाको निधनपछि उनका लागि चाडवाडमा जाने कुनै शहर छैन । पशुपति परिसर नै उनको घर बनेको छ । 

केही वर्ष यता भने पफालाई दशैँ आउनु नआउनुले खासै फरक पारेको छैन ।  

‘किन यस्तो ?’

‘खसी काट्दैनन् आजकल । दशैँमा मासु खान पाईदैन । पहिला त काट्थे । खै के भाको अहिले !’ पफाको बोलीमा निराशा झल्कियो । 

दशैँ लगायत अन्य चाडवाडको खासै रहर नभएपनि केही वर्ष अघिसम्म उनले कम्तीमा दशैँको अनुभव चाहिँ गर्न पाइरहेको उनी बताउँछिन् । तर, अहिले दशैँ क्यालेन्डरको फगत मितिमा सिमित छ । उनका लागि मात्र होइन त्यहाँ बस्ने हरेकका लागि । उनले यही भनिन् ।

कुराकानी गर्ने क्रममा एक वृद्ध हाम्रो छेउमा आएर बसे । नयाँ मान्छे देखेकाले उनका मनमा ‘को हो ? किन आए ?’ भन्ने जिज्ञासा पलाएको हुनसक्छ । उनको कुरा जान्ने जिज्ञासा हाम्रो मनमा पनि पलायो । 

नाम, मुक्तिनाथ रेग्मी । ९० वर्ष । घर, धादिङ । 

‘बुवाआमा सानैमा बित्नुभयो । त्यसैले म त सानैदेखि बाहिरबाहिरै बसेँ नानी ।’ आफ्नो अस्पष्ट लवजमा उनले बताए । सानैदेखि परिवारको साथबाट वञ्चित हुनुपरेकाले पनि होला उनलाई चाडवाडेको कुनै रौस छैन । मनाए पनि ठिकै, नमनाए पनि उस्तै । उनलाई गुनासो एउटै कुरामा छ । केही वर्ष यता उनको जिब्रोले मीठो खानेकुराको स्वाद लिन पाएको छैन । दशैँमा समेत अरुबेला जस्तै सामान्य खाना आफ्ना थालमा पस्किइँदा उनी दुखी छन् । रेग्मी पशुपतिमा बसेको ११ वर्ष बितिसक्यो । तर, यस्तो लापरवाही हुन थालेको धेरै वर्ष भएको छैन । ‘त्यस्तै ३,४ वर्ष जति भयो ।’ ठ्याक्कै कति वर्ष भनेर बताउन सकेनन् । 

उनको यो अनिश्चिततालाई सुल्झाए यम बहादुर कार्कीले । ‘ठ्याक्कै ३ वर्ष भयो । अरु दिन र दशैँमा केही फरक छैन । नयाँ हाकिम आएर हो यो सब भाको । शुरुशुरुमा त राम्रै ग-यो उसले पनि । पछि खै के भयो ।’ एकै सासमा उनले आफ्ना कुरा टुङ्ग्याए । यसो भन्दै गर्दा उनी थोरै दुखी देखिन्थे र बढी आक्रोशित । उनी त्यहाँ बस्न आएको ६ वर्ष पूरा भयो । ३ वर्ष सम्म राम्रै वातावरण र खानपिन भएको उनले बताए । ‘महिनामा २ पटकसम्म मासु हुन्थ्यो ।’ उनले भने । 

हुन त आफ्नो परिवार बिथोलिएर त्यहाँ बस्न आएदेखि नै चाडवाड खासै रमाइलो लाग्दैन उनलाई यद्यपी यसरी दशैँ निरर्थक लाग्न थालेको चाहिँ त्यही ३ वर्ष भयो । ‘हाम्रो १५ जनाको परिवार थियो । सबैजना सँगै हुँदा चाडवाड रमाइलो लाग्थ्यो । बुबाआमा, दाजुदिदी सबै मरिगए । म पनि बिरामी भएँ । यहाँ आएँ । ३ वर्षसम्म यहाँ नि राम्रै थियो । अहिले त यी यस्तै छ ।’ बितेका दिनहरु सम्झिँदै उनी निराश भए ।

‘दशैँमा कमिज सुरवाल सिलाइदिन्छ । टिका लगाइदिन्छ । मासु चाहिँ देको छैन ।’ कार्कीले बताए । 

‘टिका लाएर दक्षिणा पनि दिन्छ ?’

‘दिन्छ ।’

‘कति ?’

‘पहिला ५ रुपियाँ । पोहोर १० ।’

यस्तै गुनासोको पोको लिएर बसेकी थिइन् । धनमाया जंगम, ७० । पशुपति आउनु उनको रहर होइन बाध्यता हो । यही बाध्यताले उनी बाँधिएकी छन् विगत १० वर्षदेखि । छोराछोरी भएको बताए पनि के कारणले वृद्ध आश्रम आएको भनेर खुलाउन चाहिनन् ।

‘दुःख पाइयो आइयो । कारण नसोध्नुस् ।’ उनी कड्किइन् । ‘दालभात देको छ । मासु छैन । यही हो दशैँ ।’ उनले थपिन् ।

सारा देशलाई दशैँले छोयो तर, तुलामाया, धनमाया, मुक्तिनाथ, पफा, यमबहादुर लगायत पशुपतिमा बस्दै आएका अधिकांश वृद्धवृद्धालाई छोएन । सबैको आआफ्नै कथा छ अनि व्यथा पनि । हुनेका लागि हरेक दिन दशँै जस्तै, उनीहरुका लागि दशैँ सामान्य दिन जस्तै भएको गुनासो छ । 

भन्छन् ‘हरेक दिन दशैँ जस्तै होस् भन्दैनौं । तर, चाडवाड चाहिँ खुसी साथ मनाउन पाए हुने !’  


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?