रियलस्टेटमा ६० वटा संस्थाहरुले गरे दुई खर्ब ४० अर्बको कर्जा लगानी

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट अर्थात घरजग्गा क्षेत्रलाई अनुत्पादक क्षेत्र मान्दै कर्जा लगानीमा आंशिकरुपमा कडाई गर्दे आएको भएपनि रियलस्टेट कर्जा बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो अर्थात साउन महिनासम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र फाईनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुले घरजग्गा क्षेत्रमा मात्र दुई खर्ब ४० अर्ब ८८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० अर्ब ४१ करोड ५० लाख रुपैयाँले बढि हो । राष्ट्र बैंकका अनुसार २०७८ साउन मसान्तमा घरजग्गा क्षेत्रमा मात्र एक खर्ब ९० अर्ब ४६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा वाणिज्य बैंकहरुले मात्र घरजग्गा क्षेत्रमा दुई खर्ब ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुको यस्तो कर्जा रकम एक खर्ब ६५ अर्ब २२ करोड ५० लाख रुपैयाँ रहेको थियो । विकास बैंकहरुले भने चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम १९ अर्ब ३२ करोड ८० लाख रुपैंयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुको यस्तो कर्जा रकम १८ अर्ब १६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने घरजग्गा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा १० अर्ब एक करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको साउन मसान्तसम्ममा भने फाईनान्स कम्पनीहरुको यस्तो कर्जा रकम सात अर्ब सात करोड ८० लाख रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?