कुन नेताले कहाँबाट उम्मेदवारी दर्ता गर्दै ?

लोकपथ
234
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । त्यसो त टिकटको टुंगो लागिसकेकाहरु मनोनयनका लागि तयारी गर्दैछन् भने कोही टिकटकै रस्साकस्सीमा छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आज मनोनयन दर्ता गर्दैछन् । उनको उम्मेदवारी दर्ताका लागि वारेस बनेर आरजु राणा डडेल्धुरा पुगिसकेकी छन् । डडेलधुरा जिल्ला अदालतमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आरजुले शेरबहादुरको मनोनयन दर्ता गरिदिनेछिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गर्दैछन् । दमक नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले मनोनयन दर्ता गर्न लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट निर्वाचन लड्ने भएका छन् । उनले आज भू तथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार दर्ता गर्दैछन् । उनले जिल्ला सदरमुकाममा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न लागेका हुन् ।

नेकपा एमालेको तर्फबाट काठमाडौं ५ बाट टिकट पाएका इश्वर पोखरेलले टोखास्थित श्री समाज भवनमा बिहान ११ बजे उम्मेदवारी दर्ता गर्दैछन् ।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उनले १२ बजे ताहाचलमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै, कांग्रेसबाट काठमाडौं १ को टिकट पाएका प्रकाशमान सिंहले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मनोनयन दर्ता गर्दैछन् ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ बाट मनोनयन दर्ता गर्दैछन् । उनले नक्सालस्थित ज्येष्ठ नागरिक स्याहार केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नेछन् ।

त्यस्तै, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट चुनाव लड्दैछन् । उनले मेचीनगर नगरपालिकाको भवनमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ को जिल्ला समन्वय समितिको कार्यालयको भवनमा मनोनयन दर्ता गर्दैछन् ।

त्यस्तै, पूर्व प्रहरीमहानिरिक्षक सर्वेन्द्र खनालले नेकपा एमालेको तर्फबाट काठमाडौं ६ मा उम्मेदवारी दर्ता गर्दैछन् । उनले काठमाडौं ६ को निर्वाचन अधिकृतको कार्यालय रहेको तारकेश्वर नगरपालिकाको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही २ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उनले बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गर्न लागेका हुन् ।

कांग्रेस नेता रमेश लेखकले कञ्चनपुर ३ बाट टिकट पाएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको भवनमा मनोनयन दिँदै छन् ।

त्यस्तै, एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ बाट निर्वाचन लड्दै छन् । उनले बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गर्दैछन् ।

एमालेले टिकट नदिएको भन्दै पार्टी परित्याग गरेको घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले रुपन्देही १ बाट मनोनयन दर्ता गराएका छन् । उनलाई गठबन्धनले सहयोग गर्ने बचन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?