घनश्याम भुसालले छाडे एमाले

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफू एमालेमा नरहने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वच्छाचारिताको कारण सँगै रहन नसक्ने भन्दै पार्टीमा नरहने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

साथै उनले अध्यक्ष ओलीको कारण पार्टी दम्भ र स्वेच्छाचारिताको कैदी बन्न पुगेको समेत आरोप आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा पार्टी राजनीतिको विभिन्न कालखण्डको बयान गर्दै नेता भुसालले ओलीको दम्भ र स्वेच्छाचारिताको कारण पार्टी पनि सोही अनुसार अघि बढेको बताए ।

नेता भुसालले विभिन्न कालखण्डका बारेमा समेत बयान गरेका छन् । पार्टीको पाचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनको नयाँ मोडमा पुर्याएको, नवौँ नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लगेको बताए ।

तर त्यसै महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरे । सो महाधिवेशनबाट पार्टी अध्यक्षमा ओली निर्वाचित भएका थिए । त्यसपछिका दिनहरुमा आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गएको समेत बताएका छन् ।

‘पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो ।’ उनले भनेका छन्, ‘तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो ।’

पार्टीभित्रको आन्तरिक राजनीतिमा सधैँ औला उठाउने भुसाललाई यस पटकको निर्वाचनमा एमालेले सिफारिस गरेपनि अन्ततः टिकट दिएन । एमाले मात्रै नभइ वर्तमान नेपाली राजनीतिको वैचारिक नेताको रुपमा परिचित उनलाई टिकट नदिइएको भन्दै राजनीतिक वृत्तमा हलचल मच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?