राप्ती नदीको बाढीले ३ सयभन्दा बढी घर डुबानमा

लोकपथ
0
Shares

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नम्बर १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरू त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।

अत्यावश्यक सामग्री लिएर स्थानीयहरू आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६.६३ मिटर पार गरेको छ । राप्तीनदीमा पानीको सतह ५.४० मिटर पुगेपछि खतरा मानिन्छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । राप्तीनदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत स्थानमा बाढी आउँछ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत् आग्रह गरेको छ। बाढी र डुबान सुरू भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण अहिले त्रसित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?