यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा

लोकपथ
806
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको आधारभूमि पर्सा जिल्लामै सो पार्टीभित्र व्यापक असन्तोष बढेको छ ।

मधेसको सेन्टिमेन्टलाई भजाएर सधैंजसो सत्ताको वरिपरि रहन सफल यादव व्यवहारमा भने पार्टी भित्र यादववाद र धनवादलाई प्रश्रय दिइरहेको आरोप लाग्दै आएको छ । यही असन्तोषका कारण नेता डा. बाबुराम भट्टराईहरुले उनको साथ छोडेको बुझाई अधिकांश कार्यकर्ताको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसलाई अवसर दिने भन्नेमा पनि उनले जातीयतालाई प्राथमिकता राखेर पार्टीभित्र इमानदारीपूर्वक काम गरेका कार्यकर्तालाई पाखा लगाउन उद्यत देखिएको गुनासो कार्यकर्ताले गरेका छन् ।

पर्सा मधेस आन्दोलनमात्र नभएर उपेन्द्रको पार्टीको विरासतको पनि केन्द्र हो । तर, यहीँको वीरगञ्ज महानगरमा जसपाले गत गत स्थानीय चुनावमा गठबन्धन (त्यसमा पनि नेपाली कांग्रेस) को साथ पाएर मेयर जितेको थियो । यतिसम्म कि, जसपा अध्यक्ष यादवलाई अहिले मधेसबाट आफ्नो पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाउन सकस हुने देखिएको छ ।

उनी मधेसमा बढी सिटमा आफ्ना उम्मेदवार उठाएर ३ प्रतिशत मतको थ्रेस होल्ड हात पार्ने उद्देश्यमा भए पनि एक्लै लड्दा प्रत्यक्षतर्फ पत्तासाफ हुने डरले गठबन्धनमा लत्रिनुपर्ने दबाबमा छन् । सत्ता गठबन्धनमा भने जति सिट नपाए एक्लै चुनाव लड्ने घुर्की लगाइरहेका यादवले पार्टीमा आन्तरिक असन्तोषको समाधानमा भने खासै चासो राखेका छैनन् । यादवको सत्ता र शक्ति मोहका कारण जसपा अहिले इतिहासकै कमजोर मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ ।

उनी निकट नेता कार्यकर्ताका अनुसार यादवले पार्टीलाई रेल र आफूलाई त्यसको चालक भन्ने गरेका छन् । पार्टीबाट क्षमतावान नेता कार्यकर्ताको पलायनलाई उनले स्टेशनमा उत्रिने यात्रुको संज्ञा दिने गरेका छन् ।

यादवले पार्टीलाई जसरी पनि सत्ता र शक्ति आर्जनको माध्यममात्र बनाएकाले एक समय उनीसँग निकट सम्बन्ध राख्ने नेताहरुले उनको साथ छोड्दै गएको घटनाक्रम नौलो नभएको कार्यकर्ताको बुझाइ छ । वीरगञ्जका तत्कालीन नगरप्रमुख विजयकुमार सरावगी जसपा यादव र एस म्यानहरुको पार्टी भएको र इमानदार तथा क्षमता भएका नेता कार्यकर्ता त्यो पार्टीमा रहन नसक्ने भन्दै एमाले प्रवेश गरेका थिए । उनी एमालेबाट चुनाव लडेर बरु हार्न तयार रहेको, तर ‘जिल्लादेखि केन्द्रसम्मका यादवहरुको मनोमानी’का अगाडि लाचार हुन नसक्ने भन्दै पार्टी परिवर्तन गरेका थिए ।

अहिले पनि आसन्न चुनावको मुखमा जिल्लाका प्रभावशाली नेता र कार्यकर्ताहरु पार्टी छोड्ने मनस्थितिमा रहेको र उनीहरुले सिट बाँडफाँटलाई मात्र पर्खिएर बसेको जिल्लाका जसपा नेताहरु बताउँछन् । उपेन्द्र यादवले जसपालाई ‘यादव इन्टरप्राइजेज’ बनाएको आरोप कार्यकर्ताहरुको छ । उपेन्द्रको यो प्रवृत्तिको पुष्टि उनीसँग अहिले वन तथा वातावरण मन्त्रीसमेत रहेका प्रदीप यादवको सम्बन्धले पुष्टि गरेको विश्लेषण हुन थालेको छ ।

पटकपटक पार्टीको कारवाहीमा परेका मन्त्री यादवकै इशारामा उपेन्द्रले यस पटक पर्सा जिल्लाको सिट बाँडफाँटमा अडान लिएको बताइन्छ । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले पर्साको १ र ३ नम्बर क्षेत्रमा जितेकोमा जिल्लामा प्रदीपको राजनीतिक वर्चश्व कायम रहने गरी १ र २ नम्बरका लागि यादवले गठबन्धनमा अडान कसेको जसपाका एक केन्द्रीय नेताले बताए ।

प्रदीप यादव विगतमा आफूलाई मन्त्री नबनाएको झोकमा अध्यक्ष यादवको पुत्ला जलाउनेदेखि पार्टी कार्यालय तोडफोडजस्ता अमर्यादित काम गराएको भन्दै पार्टीको केन्द्रीय सदस्यबाट हटाइएका थिए । अध्यक्ष यादवकै जोडबलमा उनलाई त्यतिबेला कारवाही गरिएको थियो । त्यसअघि उनलाई स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।

आफ्नै अडानमा पटकपटक कारवाही गरेका यादवलाई अध्यक्ष यादवले पछिल्लो पटक मन्त्री बनाएपछि पार्टीभित्र यी दुई यादवको सम्बन्ध देखाउने र खाने दाँचबीचको अन्तरजस्तै भएको भनी चर्चा हुने गरेको छ ।

वन मन्त्रीका रुपमा यादवका कामकारवाही पनि विवादमा पर्दै आएका छन् । अघिल्लो चुनावमा जित हात पारेको पर्सा ३ मा त्यसबेला चुनाव हारेका र अहिले एमालेबाट आकांक्षी रहेका नेताको पक्षपोषण हुने गरी २ नम्बर क्षेत्रमा अध्यक्ष यादवले अडान राख्नुलाई पर्साका जसपा कार्यकर्ताले अर्थपूर्ण रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?