कलाकारको दसैँ : कसको योजना के ?

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने, टिका लगाउने, मान्यजनसँग आशीर्वाद लिने, चङ्गा उडाउने, जमघट गर्ने नै हो ।

त्यसैले यो माहोलमा सामान्य नागरिकदेखि सेलिब्रिटी छबि बनाएका मानिसहरु दसैँका माहोलमा व्यस्त छन् । अझै कलाकारहरुको त देश तथा विदेशमा हुने विभिन्न कार्यक्रमको सेड्युअल बनिसकेको छ ।

यसैबीच हामीले केही कलाकार तथा सेलिब्रेटीलाई दसैँ कसरी मनाउँदै हुनुहुन्छ ? भनेर सोधेका थियौँः

प्रियंका कार्की, अभिनेत्री

यसपटकको दसैँमा आफ्नो परिवारसँग मनाइरहेकी छु । बा आमाको हातबाट टीका थापेर आशीर्वाद लिएर लिने योजना छ । यसपाली घुम्न जाने प्लान बनाइएन । सपिङ्ग पनि खासै दसैँकै लागि भनेर गरिएन । जे होस् परिवारसँग बसेर दसैँ मनाउनुको बेग्लै रमाइलो हुन्छ । सम्पूण नेपालीहरुलाई राम्रोसँग दैशैँ मनाउन आग्रह गर्दछु । सबैलाई विजयादशमीको शुभकामना ।

दिपकराज गिरी, अभिनेता

डेंगु संक्रमणका कारण ज्यान त्यति फूर्तिलो छैन । तैपनि परिवारसँगै बसेर दसैँ मनाइरहेको छु । रमाइलो भइरहेको छ । तर, डेंगुको त्रासले गर्दा झुलभित्रै दसैँ मनाउनुपर्ने अवस्था छ । विगतमा वर्षहरुमा कोरोना महामारीका कारण दसैँ खल्लो जस्तै थियो यसपाली डेंगुले बितण्डा मच्चाइरहेको छ । त्यसैले यसको संक्रमणबाट बचेर दसैँ मनाउन आग्रह गर्दछु ।

रचना रिमाल, गायिका

यसपाली दसैँमा निकै व्यस्त छु । धेरै स्थानमा कार्यक्रमहरु तय भएका छन् ।

टिकाको दिन यूगाण्डामा कार्यक्रम छ । त्यसैले भोलि (अष्टमी)मा नेपालबाट युगाण्डा जाँदैछु । उताबाट फर्किएर घर जान्छु । घरमा टिका लगाएर फेरि २२ गते स्याङ्जामा कार्यक्रम छ त्यता जान्छु ।

मलाई मनपर्ने चाड हो, दसैँ । यो बेला पिङ खेल्न पाइन्छ । मिठो–मिठो खानेकुराहरु खान पाइन्छ । सबै साथीभाईहरुसँग भेटघाट गर्न पाइन्छ । मामाघर जाने तास खेल्ने, चंगा उडाउने जस्ता कुराहरुले धेरै रमाइलो लाग्छ ।

बद्री पंगेनी, गायक

दसैँको नवमीको दिनसम्म कार्यक्रममै छु । सल्यान, सुस्ताको कार्यक्रम सकाएर काठमाडौं आएको छु । आज(फूलपाती)को दिन कञ्चनपुरको बेलौरीमा कार्यक्रम छ । त्यहाँबाट काठमाडौं गएर पाल्पा जान्छु । पश्चिम पाल्पाको कार्यक्रम सिध्याएर नवमीको दिन जन्मघर पाल्पा रामपुर पुग्नेछु । दसैँमा घर पुगेपछि साथीभाईसँग भेट्ने घुमघाम गर्ने योजना छ ।

दिपाश्री निरौला, अभिनेत्री

मलाई दसैँ निकै खास लाग्छ । टिका लगाइदिँदा उच्चारण गरिने मन्त्र साह्रै राम्रो लाग्छ । दसैँका बेला माहोल नै बेग्लै हुन्छ । मानिसहरु चंगा उडाइरहेका हुन्छन्, पिङ खेलिरहेका हुन्छन् । जताततै बजेको मालश्री धुन सुन्दा मन प्रफुलित हुन्छ ।

यसपाली दसैँमा विराटनगरमा हुन्छु । विराटनगर गएर कालिमाताको पूजा गर्छु । सबैजना साथीसँगीहरु भेटेर रमाइलो गर्ने योजना छ । विभिन्न खानाका परिकारहरु बनाएर खाने पनि प्लान छ । योपालि मामाघर चाहीँ जान्न । मामा बित्नु भएकाले टीकमा छैन । विराटनगरमै दसैँभर समय बिताउँछु ।

सत्यराज आचार्य, गायक

चाडपर्व भनेको मनमा खुसी, अमंगको समय हो । सबैजना साथीभाईहरु आफ्ना आफन्तहरु भेटघाट हुने, टिका लगाउने आशिर्वाद लिने, रमाइलो गर्ने नै हो । तर, यसपटक मेरो दसैँकै लागि भनेर कुनै योजना बनाइएन । घरमा छोरा र मामू दाईलाई डेंगूको संक्रमण भएकाले पनि होला सायद ।

विगतका वर्षमा दसैँमा कोरोनाले आक्रान्त बनाएर डराइ–डराइ मनाउन परेको थियो यसपटक पनि अवस्था उस्तै छ तर भाइरस फरक । डेंगू दिन प्रतिदिन धेरै मानिसहरुमा फैलिरहेको छ । सबैजना सुरक्षित भएर चाडपर्व मनाऔँ ।

भरतमणी पौडेल, हास्यकलाकार

यो पालिको दसैँ स्वदेश र विदेशमा मनाउँदै छु । परदेशमा बस्नु भएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुसँग दसैँ मनाउन टिकाको दिन न्युजिल्यान्ड जाँदैछु ।

टिकाको दिन आमा बुबाको हातबाट टिका र आशीर्वाद लिएर न्युजिल्यान्ड जाने सेड्यूल छ । न्युजिल्यान्डमा मेरो प्रस्तुती रहेको छ र दसैँको शुभकामना आदनप्रदान गरेर यो दसैँलाई रोचक बनाउने योजना छ ।

किरण केसी, हास्यकलाकार

पछिल्लो समय दसैँ निकै भड्किलो हुन थालेको आफ्नो संस्कार र रितलाई मानिसहरुले भुल्दै गएका छन् । त्यसैले सामान्य ढंगले दसैँ मनाउने योजना छ । साथीभाई घरपरिवारसँग रमाइलो गरेर मनाउनेछु ।

दसैँको समयमा वर्षभरी भेट नभएका साथिहरुसँग पनि भेट हुन्छ सबैलाई समय दिएर घर परिवारसँग बसेर दसैँ मनाउछु ।

दीपिका प्रसाईं, अभिनेत्री

यसपाली घरतिर दसैँ नहुने भएकाले माइतीघर धनगढीतिर आएको छु । बिहे गरेर घर गएकी चेलीलाई दसैँमा माइतीमा आएर दसैँ मनाउन पाउनु जस्तो ठूलो खुसी अरु केही नहुँदो रहेछ । त्यसैले यसपाली दसैँभर यतै रहन्छु । टीकापछि चाहिँ कतै घुम्न जाने योजना बनाएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?