दसैँ यात्रा गर्दै हुनुहुन्छ ? होसियार ! यस्ता हुन्छन् पाकेटमारका कोड भाषा र अर्थ

दसैँले धेरैलाई यात्रा गराउँछ । मानौं यो यात्रा अनि भेटघाटको पर्व हो । परदेशबाट घरदेश, सहरबाट गाउँघर, माइत, मावल यस्तै यस्तै….। तर, यात्रामा हामीले थोरै सावधानी नअपनाउँदा दुःख हैरानी पाउँछौँ ।

चाडवाडका बेला घटेका थुप्रै चोरी डकैती लुटपाटका जस्ता आपराधिक घटनाहरु सुन्दै आएका छौँ । तपाईंलाई थाहा छ । सार्वजनिक सवारीमा र सार्वजनिक स्थानमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै कोड भाषामा कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो चोरीको दाउ थाहा नपाउन् भनेर उनीहरुले कोड भाषा प्रयोग गरेका हुन् । पाकेटमारी घटना सुनाउँदै एकजना प्रहरी अधिकारी भन्छन्, ‘सांकेतिक भाषा बुझ्न नसक्दा सार्वजनिक यातायातका साधानमा लुटपाट बढी हुने गरेको छ ।’

विशेष गरी सर्वसाधारणको बाक्लो भीडभाड हुने स्थान र सार्वजनिक यातायातको साधनहरुमा लुटेरा तथा पाकेटमारहरुले ‘कोड’ भाषा प्रयोग गरी अपराध गर्ने गरेको पाइएको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।
प्रहरीका अनुसार, यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् । बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम् हो भन्दै हातफुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।

उनीहरु एउटा स्थानमा उभिएका हुन्छन् तर, आँखा र हात भने सर्वसाधारणको झोला, गर्धनको सिक्री र पर्स थुत्न पुगेको हुन्छ । कतिपय पाकेटमारहरु पाकेट मार्न असफल भएपछि ‘पैसा हराएको वा लुटिएको नाटक गर्छन् । ला १ मेरो त पैसा नै चोरी भो’ पाकेटमारले यसो भन्दै गर्दा सर्वसाधारणको ध्यान खल्ती हेर्न र छाम्न तिर जान्छ, त्यसपछि कोसँग कति पैसा छ भन्ने कुरा पाकेटमारले सजिलै चाल पाउँछन् ।

उपत्यकामा सक्रिय पाकेटमार तथा लुटेराहरुले सर्वसाधारणको आँखा छल्न र प्रहरीबाट जोगिन कोड भाषा प्रयोग गर्ने गरेका हुन् । लुटेराका कतिपय भाषाप्रति प्रहरीसमेत जानकार छैनन् ।

उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् । तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् । ठाउँअनुसार भाषा फेर्छन् अपराधीहरु प्रहरी भन्छन्, भाषाले नभएपनि उनीहरुको हाउभाउ र हेराइले पाकेटमार र लुटेरा ठ्याक्कै छुट्याउन सकिन्छ ।

उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् । तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् । पाकेटमार समूहहरुबीच कुरा हुँदा यस्ता शब्दहरु प्रयोग हुन्छन् । सुन्नुभयो भने होशियार हुनुहोस् । पाकेटमारहरु तपाईकै वरपर हुन सक्छन् ।

यस्तो छ पाकेटमार तथा लुटेराहरुको ‘कोड भाषा र अर्थ’

मकै – पैसा भएको पर्स (वालेट)
टोक्नु – झिक्नु वा निकाल्नु
टिनुवा – पाकेटमार
खडी – लुटपाट गर्नु
घोप्टे – खुकुरी
चिसो – छुरी वा चक्कु
धु्रवदाई – पैसावाला मानिस
कान – मोबाइल
दस्ती तोड – पर्सबाट पैसा निकाल
दह – रुपैयाँ झिक वा निकाल
थान – एकहजारको नोट
गज – सयको नोट
सेतो आधा – पाँचसयको नोट
टिप्ली मास्टर– पाकेटमारको मुख्य नाइके
ढेक – पाकेटमार्दा छेकछाक गर्ने वा ठेलमठेल गर्ने
मामा –पुलिस
ठुले – सादा पोशाकको प्रहरी
लाटा – युनिफर्म लगाएको प्रहरी
मानबेचे – प्रहरी भ्यान
डे – केरकारको प्रहरी (सिआइडी)
टिप्स – मुद्रा (आफ्नो खल्तीको पैसा खसाली टिप्न भनी अरुको खल्तीबाट पैसा निकाल्ने)
निलचरी – आर्मी र सशस्त्र प्रहरी
बिरालो – सेतो भ्यान
पैसा – द
मोबाईल – कान
पकेटमारी पीडित – रामे
मुख्य पाकेटमार – काशी
पैसा धेरै – टानको दर
पैसा थोरै छ – जुटको दर
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठुल्दाई आयो
ड्राईभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग – (टप्की)
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडी सर – चिछल जा

पाकेटमारबाट कसरी सुरक्षित हुने त ?

– बढी पैसा लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।
– भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स पाकेट आदिको विशेष ख्याल राख्नुहोस् ।
– सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।
– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?