हेटौँडामा धार्मिक विधिपूर्वक फूलपाति भित्र्याइयो

लोकपथ
182
Shares

मकवानपुर । बडादसैँको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्मिक विधिपूर्वक भित्र्याइयो ।

उक्त अवसरमा नेपाली सेनाको एक टुकडी र नेपाल प्रहरीको जवानले हर्षबढाईसहित सलामी अर्पण गरेका थिए । आजै बिहान फूलपाती लिन मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण बज्राचार्य, नेपाली सेनाका उच्च अधिकृत, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधि स्थानीय गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।

यसैगरी गोरेक्षश्वर मन्दिरबाट निस्किएको अर्को धार्मिक शुभयात्राले हेटौँडा उपमहानगरपालिका–२ वनस्खण्डीको जमरा घरमा ल्याएको फूलपाती आजै वनस्खण्डी मन्दिरमा भित्र्याइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।

सोही स्थानमा फूलपाती भित्र्याउन नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाँक्री र धार्मिक भक्तजन सम्मिलित शुभयात्राले हेटौँडा नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?