दसैंको टीकामा दिइने आशिर्वाद र मन्त्रको अर्थ

काठमाडौं । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढ्ने गरेको पनि पाउँछौं । यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ ।

हामी हाम्रो संस्कार र सँस्कृतीबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनभिज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ । अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ । यदि हामीले ती कुराको पुष्टि गर्न सकेनौं भने नयाँ पुस्ताले स्वीकार्न गाह्रो मान्छ । हाम्रा बालबच्चामा हामीले मानेको संस्कार र सँस्कृतीको हस्तान्तरण गर्न पनि ती सबैको बारेमा पहिला आफैँ जानकार हुन आवश्यक छ ।

अब कुरा गरौं दसैंको टीका लगाउँदा भनिने मन्त्रको ।

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

यस विषयमा प्रष्ट हुन जरुरी छ की, यो श्लोक कुनै धार्मिक पुराणअन्तर्गतको होइन । यो श्लोक विशेषगरी नेपालमा मात्र प्रयोग हुन्छ । यो श्लोक नेपालका राजाहरूलाई टिका लगाउँदा प्रयोग भएको हुन सक्ने संस्कृत भाषाका ज्ञाताहरू बताउँछन् । किनकी यसमा रहेका सबै पात्रहरू राजपरिवार अन्तर्गतका छन् । त्यसैले यसलाई सुरुमा कुनै राजपुरोहीतले राजालाई आशीर्वाद दिन बनाएको हुनसक्छ ।

यस मन्त्रमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस् । दशरथ राजाको जतिकै सम्पत्ती होस् । शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी हुनु । नहुष राजाको जस्तै ऐश्वर्य होस् । हावाको जस्तै गती र दुर्योधनको जस्तै मान–सम्मान मिलोस् । सूर्यपुत्र कर्ण जस्तैँ दानी हुनु । शक्तिमा बलराम जस्तै हुनु । सत्यमा कुन्तीको पुत्र युधिष्ठिर जस्तै हुनु । विद्धवानमा विदुर बराबर हुनु । भगवान नारायणको जस्तो कीर्ति होस् भनेर भनिएको छ । यो नै मन्त्रको सार हो ।

यसमा उल्लेख गरिएका पात्रहरूको बारेमा जान्नको लागि भने अध्ययनको नै जरुरी हुन्छ । यदि कसैले श्रीमद्भागवत महापुराणका कथाहरू सुन्नु भएको छ भने त्यसमा यी सबै पात्रहरूको बारेमा उल्लेख गरिएको छ । यहाँ अश्वत्थामा, दशरथ, भगवान राम, नहुष, पवनदेव, दुर्योधन, कर्ण, भगवान कृष्णका दाई बलराम, युधिष्ठिर, विदूर र भगवान नारायणलाई उदाहरणीय पात्र बनाइएको छ ।

अर्को मन्त्रः

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।

यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाइएको छ । यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ । यो श्लोक चण्डीबाट साभार भएको हो ।

जयन्ती: जित्नेवाली
मंगलाकाली: मंगल गर्नेवाली देवी
भद्रकाली: दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी
कपालिनी: भगवती दुर्गाको अर्काे नाम
दुर्गा: दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी
क्षमा: पृथ्वी
शिवधात्री: कल्याण गर्नेवाली
स्वाहा: दक्षप्रजापतीकी छोरी
स्वधा: दक्षप्रजापतीकी छोरी
नमोस्तुते: त्यस्ती देवीलाई नमस्कार छ ।

यो विशेष गरी महिलालाई टीका लगाउँदा उच्चारण गरिन्छ । तर, हामीले बुझेझैँ दसैंमा महिलालाई टीका लगाउन यही मन्त्रको प्रयोग गर्नुपर्छ भन्ने धारणा चाहिँ गलत हो । यहाँ आशिर्वाद नभएर महिलालाई स्वयं देवीको स्वरुप सम्झिएर स्तुति गरिएको हो ।

यस विषयमा कुनै पनि धार्मिक शास्त्र, नीति, पुराण तथा पौराणीक ग्रन्थहरूमा उल्लेख छैन । यो हामी आफैँले चलाएको चलन मात्र हो । नत्र माथि उल्लेख भएको आयु द्रोण सुते… श्लोकको रचना गर्नुभन्दा पहिले दसैंमा कसैले पनि आशिर्वाद नै पाउँदैन थिए त ?

आशीर्वाद भनेको शुभेच्छा हो । भलो चिताउनु हो । सफलताको कामना गर्नु हो । त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन । आशिर्वादले महिला र पुरुष छुट्टाउँदैन ।

दसैंमा टीका लगाउँदा महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिनुको कारण हाम्रो पुरातन धारणा मात्र हो । यो कुनै शास्त्रसम्मत होइन ।

यदी कसैलाई संस्कृत भाषाका श्लोक आउँदैन भने आशिर्वाद दिँदा के गर्ने त ? भन्ने पनि प्रश्न उठ्न सक्छ । आशीर्वाद मनैदेखि दिने हुँदा यसमा कुनै पनि भाषा प्रधान रहँदैन । संस्कृत भाषालाई सबैभन्दा पुरानो भाषा र देवताको प्रीय भाषा मानिएकाले संस्कृतका श्लोक प्रयोग गरिएको हो । श्लोक नआउनेले शुभ चिजहरूको कामना गर्दै टीका लगाउँदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?