दिनमा कति मासु खाने ?

लोकपथ
520
Shares

काठमाडौं । दसैँको समयमा प्रायको घरमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैँमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुणा बढी मासु खपत हुने गर्छ । विशेषत फूलपातीको दिन ल्याएको मासु दसैँभरि लगाएर खाने चलन छ । तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन ।

फूलपातीको दिन पकाएको मासु भुटेर, फ्रिजमा राखेर अनेक विधि अपनाएर स्टक गरिन्छ, तर यसरी राखिएका मासु स्वास्थका दृष्टिकोणले अस्वस्थ साबित हुन्छ ।

मासुजन्य परिकारमा शरीरका लागि आवश्यक प्रोटिन प्रशस्त हुने भए पनि धेरै मासु खानु शरीरका लागि हानीकार हुने पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । एकजना व्यक्तिले प्रतिदिन एक सय ग्रामसम्म मासु सेवन गर्नुपर्छ । त्यो भन्दाबढी अस्वस्थ मानिन्छ ।

चाडबाडमा सबै जनासँगै बसेर खानेकुरा खाने मात्रै काम हुन्छ । पकायो खायो जसले गर्दा भोजनमा सन्तुलन कायम हुँदैन । मिलाएर खायो भने मासु लाभदायक हुन सक्छ तर, जथाभावी खाँदा हानिकारक पनि बन्न सक्छ ।

दसैँको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ । बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । मासु आफँैमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ ।

मासुसँगै दसैँको समयमा मद्यपान गर्दा यो झनै हानिकारक हुन्छ । अझ मासु पकाउँदा आगोमा पोलेर, तारेर पकाउँदा यस्तो खान्कीले मधुमेह, उच्च रक्तचाप तथा क्यान्सर गराउने तत्व शरीरमा उत्पादन गराउन मद्दत पुर्याउँछ । साथै, पाचनप्रणालीमा समेत यसले गम्भीर असर पुर्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?