सराई नाच हेर्न भए पनि दसैँमा गुल्मी जान्छु : सङ्गीतकार केसी

लोकपथ
1.5k
Shares

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन आफ्नो थातथलो गुल्मी नै पुग्ने गर्छन् । जन्मथलो छाडेर २०६९ सालमा परिवारसहित काठमाडौं आएका उनी दसैँ मनाउन भने मुलघर नै पुग्ने गरेको बताउँछन् ।

दसैँमा बर्सेनि जन्मथलो जानुको मुख्य कारण भनेकै पूर्णिमाको दिन त्यहाँ लाग्ने ‘सराई मेला’ हो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा चर्चित रहेको ‘सराई नाच’को विशेष चर्चा हुने गरेकोले पनि उनी त्यो मेलामा सहभागी हुन रुचाउँछन् ।

सराई नाचमा पछिल्लो समय युवा पुस्ताको रुचि घट्दै गएको प्रति भने उनी चिन्तित छन् । ‘सराई नाचको महत्त्व घट्दै जाँदा यसको अस्तित्वसमेत सङ्कटमा परेको छ । हामी युवापुस्ताले यसको संरक्षण नगरे कसले गर्छ ?,’ उनको प्रश्न छ ।

यसपटक दसैँमा केसीको घरमा टीका छैन । यद्यपि उनी गाउँघरका आफन्त, साथीभाइहरूसँग भेटघाट गर्न र सराई नाच हेर्नकै लागि भएपनि हरेक वर्ष दसैँमा गुल्मीले उनलाई बोलाउँछ ।

बालापनको दसैँ

दसैँ भन्ने बित्तिकै सन्तोष एकपटक बालापनमा पुग्छन् । ‘केटाकेटी बेलामा दसैँ आयो अब मिठा–मिठा परिकार खान पाइन्छ भनेर हर्षित भइन्थ्यो,’ उनले भने ।

तर, एउटा कुराले भने त्यतीबेला उनलाई खुबै चित्त दुख्नेगथ्र्यो, किनभने छोरी मान्छेलाई जहाँ टीका थाप्न गए पनि दक्षिणा दिन्थे, छोरा मान्छेलाई दक्षिणा पाउनु भनेको ‘आकाशको फल आँखातरि मर’ भन्ने उखान बराबर नै हुन्थ्यो । ‘तैपनि मैले त घर तथा मामाघरमा दक्षिणा दिने जस्तो ठाउँमा रोई कराई गरेर भए पनि दक्षिणा लिन्थे,’ उनले सम्झिए ।

दसैँको अर्को महत्त्वपूर्ण पक्ष भनेको खानपान पनि हो । खानपानलाई हाम्रो समाजमा महत्वकासाथ लिइन्छ । दसैँमा प्रायजसो घरमा मासु पकाउने प्रचलन हुन्छ । तर, अर्काको देखासिकी गरेर आफ्नो क्षमताले नभ्याए पनि खसी काट्ने चलन भने मलाई मन नपर्ने सङ्गीतकार केसी बताउँछन् ।

गायक तथा सङ्गीतकार केसीको नजरमा दसैँका नराम्रा पक्ष कमै छन् भने सकारात्मक पक्षहरू धेरै छन् । दसैँमा पारिवारिक मिलनदेखि लिएर शुभकामना आदान–प्रदान, मान्यजनबाट आर्शीवाद ग्रहण, हर्षोल्लासलगायतका विविध पक्षहरू दसैँसँग जोडिएको केसी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?