पिङ हाल्नलाई साथीहरूसँग खर चोर्न जान्थेँ : गायक पौडेल

लोकपथ
1.4k
Shares

काठमाडौँ । यसपटकको दसैँमा लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलको घरमा टीका छैन । घरमा टीका लगाउन नमिल्ने भए पनि गायक पौडेलले विगतमा जस्तै यसपटकको दसैँ रुपन्देहीको सैनामैनास्थित आफ्नो घरमै गएर मनाउने सोचमा छन् । टीका र जमरा लगाएर दसैँ मान्न नपाए पनि पौडेलले पारिवारिक जमघटका साथ दसैँ मान्ने योजना बनाएका छन् ।

अन्य समयमा भन्दा दसैँका बेला गाउँघरमा छुट्टै रौनकता छाउने बताउँदै गायक पौडेलले चाडपर्वमा प्रायः घर बाहिर रहेका सबै परिवारका सदस्यहरू एक जुट हुने हुँदा पनि हर्ष र खुसी बढ्ने बताउँछन् । ‘दसैँमा घरका परिवार र गाउँघरका साथीभाइको साथमा हुँदाको आनन्द नै बेग्लै हुने रहेछ,’ उनले भने, ‘परिवारका सबै सदस्यहरू एकजुट हुने, आफ्ना अग्रज तथा मान्यजनहरूका हातबाट टीका, जमरा र आर्शीवाद लिनुको आनन्द नै बेग्लै हुँदो रहेछ ।’

अर्घाखाँचीको बल्कोटमा जन्मिएपनि अहिले रुपन्देहीको सैनामैनामा बस्दै आएका पौडेल दसैँका बेला भने जन्मथलोको खुब याद आउँने बताउँछन् । ‘अर्घाखाँचीमा हुँदा दसैँको बेला पिङ हाल्नका लागि साथीहरूसँग अर्काको खर बारीमा खर चोर्न गएको सम्झना अझै पनि ताजा छ,’ उनी विगतमा पुगे, ‘गाउँघरतिर अझै पनि खरले बाटेको लट्टे पिङ खेल्ने चलन छ । तर, अहिले यो लोप हुने अवस्थामा पुगेको छ । त्यसैले पिङलगायतका लोपोन्मुख संस्कृतिहरूको हामी आफैले संरक्षण गर्नुपर्छ’ गायक पौडेलले लोकपथसँगको कुराकानीमा भने ।

त्यस्तै, दसैँमा टीका थाप्न आफन्तकहाँ गएको सम्झना पनि अझै ताजा छ । ‘गाउँमा छँदा घरमा आफ्नो बुवा आमा तथा अग्रजहरूको हातबाट टीका थापेपछि गाउँभरि रहेका आफन्तजनकोमा टीका र आर्शीवाद लिन दिनभर डुल्ने गरिन्थ्यो,’ उनी सम्झन्छन् ‘बच्चा बेलामा दक्षिणाको ठूलो महत्व हुन्थ्यो आफूभन्दा अरुले धेरै दक्षिणा पाएको देख्दा रिस उठ्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?