पुलिस हुँ भन्दै ठग्दै हिड्ने दुई युवा पक्राउ

लोकपथ
39
Shares

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगी हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिँदै आफू सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले चौदण्डीगढी नगरपालिका– ८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरु सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ विकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी–८ मोडलको स्मार्ट मोबाईलसमेत लगेका थिए ।

नगद तथा चेक मोवाईल लिएर उनीहरु स ३ प ९१५५ नम्बरको मोटरसाईकल चढेर गएका थिए । पीडित राईले ठगीमा परेको भनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी दिएपछि खोजतलासको क्रममा उनीहरुलाई मुक्तिनाथ विकास बैंकको चेक र मोवाईल तथा स ३ प ९१५५ नम्बरको मोटरसाईकलसहित रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?