बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँढ्ने गरेको सर्वसाधरणको आरोप

लोकपथ
65
Shares

काठमाडौं । बडादसैँमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन । काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिवार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन । ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । उनले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँढ्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए ।

त्यस्तै, कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दसैँमा घर जान नै नसकिने अवस्था आएको बताए । उनले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

केही यात्रुहरु भने टिकट नपाएपनि बसको क्याविनतिर बसेर घर जाने तयारीमा थिए । टिकट पाउनै गाह्रो भएकाले क्याविनतिर बसेर घर जाने तयारीमा आफू रहेको नेपालगञ्जकी दिलमाया खत्रीले बताईन । उनले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरुले दुःख पाएको प्रतिक्रियासमेत दिईन् ।

बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दसैँमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोशसमेत व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?