दसैँमा शाकाहारीले खानुहोस् यस्ता परिकार (विधिसहित)

बडादसैँ अर्थात् सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । यतिबेला घर–घरमा दसैँ आएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ । शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक आएको छ ।
नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, सहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दसैँ आएको छ । नीलो आकाशमा रंगीचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागिरे, लामो बिछोडपछि भेटिएका परदेशी मायालु, गफिँदै गरेका अधबैँसे । हो, साँच्चै दसैँ खास छ ।

नेपालीहरुको महान् चाड धर्म, संस्कृति र सभ्यतासँग जोडिएको चाड हो । साथै, खानपानसँग पनि यसको साइनो छ । दसैँमा विशेषगरी माछा मासुको खपत अत्याधिक हुन्छ । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि दसैँमा एकदुई छाक मासु खाने चलन छ । त्यसैले मांसाहारीहरुका लागि दसैँ आफैँमा विशेष चाड हो ।

साथै, शाकाहारीहरुले पनि दसैँलाई खानपान विशेष पर्व बनाउन सक्छन् । यो फूर्सदको समय भएकाले पनि उनीहरुले आफूलाई मनपर्ने परिकार घरमै बनाएर खान सक्छन् । त्यसो भए भेजिटेरियनले दसैँमा कस्ता परिकार बनाउने त ? लाजिम्पाटस्थित र्‍याडिसन होटलका सेफ सरोज तिवारी भेजहरुका लागि पनि थुप्रै परिकार बनाएर दसैँलाई विशेष बनाउन सक्ने बताउँछन् ।

‘भेजिटेरियनहरुले भेज बिर्यानी, मसरुम मटर ग्रेभी, पनिरका परिकार, पुलाउ, काउलीको पकौडा, कुरिलोको तरकारी, फलफूल, दूधका परिकार खान सक्छन्,’ उनले भने ।

 

भेज बिर्यानी कसरी बनाउने ?

भेज बिर्यानी बनाउनका लागि बासमती चामलको आवश्यकता पर्छ । सबैभन्दा पहिले चामललाई ढड्याउनुहोस् । आफ्नो आवश्यकता अनुसारको चामल ढडाएपछि त्यसलाई ३० मिनेटसम्म छोड्नुहोस् ।

आवश्यक सामग्री
स्यासरोन, काउली, तेजपत्ता, गाँजर, आलू मटर पनिर, गोलभेँडा गरम मसला, बिर्यानी मसला, प्याज, अदुवा लसुनको पेस्ट, बेसार नुन तेल, खुर्सानी, जिरा हुन् ।
भेजितेबल आफ्नो आवश्यकता अनुसारका प्रयोग गर्न सकिन्छ । माथि उल्ल्ेखित जस्तै काउली मटर गाजर,पनिरहरुलाई हाफ ब्वोइल गर्नुहोस् ।

बनाउने तरिका
सबै मर मसला तयार पारिसकेपछि एउटा भाँडामा तेल हाल्नुहोस् । तेल तातेपछि जिरा हाल्नुहोस् जिरा रातोभएपछि प्याज हाल्नुहोस् । प्याज रातो नहुने बेलासम्म भुट्नुहोस् । त्यसपछि गरममसला खुर्सानी हाल्नुहोस् मज्जाले भुट्नुहोस् । एकछिन भुटेपछि त्यसमा अदुवा र लसुनको पेस्ट हाल्नुहोस् । फेरि, मज्जाले भुट्नुहोस् । भुटेपछि त्यसमा पानी हाल्नुहोस् । अब बिर्यानी मसला हाल्नुहोस् । नुन, बेसार र खुर्सानीको धुलो हाल्नुहोस् । तेलमाथि पानीमा तैरिन थालेपछि हाफ ब्वोइल काउली, मटर लगायतका सब्जीहरुलाई त्यसमा हाल्नुहोस् । एकछिन् पकाउनुहोस् ।

change your taste of daily boring food with veg biryani - रेसिपी : वेज बिरयानी से बदलें रोज के खाने का स्वाद

चामल ढडाएको ३० मिनेट भएपछि बिर्यानी पकाउने भाँडामा आवश्यकता अनुसारको पानी उमाल्नुहोस् । त्यसमा घ्यू हाल्नुहोस् । ढडाएको चामललाई पनि हाल्नुहोस् । बनाएको मसला र सब्जीपनि त्यसमै मिसाउनुहोस् । बिर्यानी मसला पनि माथिबाट अलि–अलि थप्नुहोस् । त्यसपछि सानो राफमा पकाउनुहोस् । रोजबटर छ भने त्यसको पनि प्रयोग गर्नुहोस् । अब तपाईंको बिर्यानी तयार हुन्छ ।

त्यस्तै, शाकाहारीहरुका लागि अर्को स्वादिष्ट परिकार भनेको पनिर कटलेट पनि हो । जसको बनाउने विधि र तरिका यहाँ प्रस्तुत गरिएको छ ।

मसालेदार पनीर कटलेटका लागि आवश्यक सामग्री :
पनिर (आवश्यकता अनुसार), एक कप बेसन, रातो खुर्सानीको धुलो, चाट मसला, गरम मसला, एक चिम्टी धनियाँ, स्वादअनुसार नुन, फ्राइको लागि तेल, चिल्ली सस ।

कसरी बनाउने ?
सबैभन्दा पहिले ब्याटर बनाउनको लागि बेसनमा नुन हाल्नुहोस् । त्यसपछि एक चम्चा रातो खुर्सानीको धुलो, धनियाँको धुलो, गरम मसला, चाट मसला मिसाउनुहोस् । एक चम्चा बेसार पनि हाल्नुहोस् । बेसार हालेपछि बिस्तारै पानी हालेर ब्याटर बनाउनुहोस् । ब्याटर बनाउँदा ध्यान राख्नुहोस् कि यसमा डल्लो नबनोस् । र, यो धेरै पातलो हुनु हुँदैन । पनिरलाई आफूलाई मन लागेको आकारमा काट्नुहोस् । चीजको टुक्रालाई अलिकति राख्नुहोस् ।

पनीर रेसिपी

सबै पनिरको टुक्राहरूको बीचबाट हल्का चिरा बनाउनुहोस् र यसमा हरियो चटनी वा चिली सस भर्नुहोस् । यसले पकौडालाई मसालेदार र स्वादिष्ट बनाउनेछ ।

त्यसपछि पनिरलाई अगाडि बनाउनु भएको ब्याटरमा पनिरका टुक्राहरुलाई मोल्नुहोस् । मोलिसकेपछि कन्ती वा फ्राइप्यानमा तेल हाल्नुहोस् र पनिरलाई मन्द हिटमा पकाउनुहोस् ।

यसरी तपाईंको पिनर कटलेट तयार हन्छ । टमाटर सससँग तातो तातो पनिर कटलेट खानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?