दसैँमा गर्भवती र सुत्केरीले कस्तो खाना खाने ?

लोकपथ
208
Shares

डा. शेलिषा उप्रेती, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँ । जो यतिबेला हाम्रो घरआँगनमा छ । यो एउटा खानपानको पर्व पनि हो । त्यसैले हामीले खानपानमा विशेष होसियारी अपनाउनुपर्ने हुन्छ । जसमध्ये पनि घरमा सुत्केरी तथा गर्भवती छन् भने उनीहरुले के खाने-खुवाउने त ? भन्ने बारे यहाँ चर्चा गरिएको छ ।

जब गर्भमा बच्चा रहन्छ, तब गर्भवतीको शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ्य हुनु जरुरी छ । किनकी गर्भवती महिला स्वस्थ्य नभएमा गर्भको बच्चामा सोझो प्रभाव पार्छ । बच्चाको राम्रो मानसिक र शारीरिक विकासका लागि पनि गर्भावस्थामा विशेष ख्याल गर्नुपर्छ ।

उनीहरुमा सकारात्मक, खुसी, सुखी भए गर्भको बच्चामा त्यसको प्रभाव पर्छ । यद्यपि गर्भवती आफूले मात्र चाहेर सबै कुराको ख्याल राख्न सक्दैनन् । त्यसैले घरको परिवारले पनि गर्भवती महिलाको ख्याल राख्नु जरुरी छ । झन् चाडपर्वमा पाहुनाको व्यवस्थापनमा लाग्दा गर्भवती तथा सुत्केरीले उचित खान पाएका छन् कि छैनन् पनि विचार पुर्याउनुपर्छ ।
गर्भवती महिलाको खानपानमा ध्यान दिर्नुे महत्वपूर्ण कुरा हो । सन्तुलित आहारले गर्भवती महिला र गर्भमा रहेको बच्चालाई राम्रो गर्छ ।

गर्भावस्थामा चाहिने पोषिला खानेकुरा

क्यालोरीयुक्त खानेकुरा जस्तै : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिनयुक्त खानेकुरा : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलिक एसिडयुक्त खानेकुरा : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । यसका साथै फोलेट एसिड ट्याबलेट पनि खानुपर्ने हुन्छ ।
आइरनयुत्तः खानेकुरा : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी साथै आइरन चक्की पनि नियमित लिनुपर्ने हुन्छ ।

गर्भवती महिलाले खानैपर्ने खानेकुरा

कम फ्याटयुक्त दुध प्रडक्टहरुलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुई पटक पनीर वा चिज खानु राम्रो मानिन्छ ।
गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकाशमा बदामले मद्धत गर्दछ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।

गर्भवती महिलाहरुले नियमित रुपमा माछामासु खानुलाई चिकित्सकहरुले आमा तथा बच्चाको रोग प्रतिरोधी क्षमता पनि बढाउने सल्लाह दिँदै आएका छन् । तर, माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले सुरुमा डाक्टरसँग परामर्श लिनु जरुरी छ ।

तिल पनि क्याल्सियमको राम्रो स्रोत हो । त्यसैले तिलको सेवन पनि गर्भवती महिलाको लागि लाभदायक हुन्छ । पालुँगो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा प्रशस्त क्याल्सियम पाइन्छ । यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकाशमा पनि सहयोग पूराउँछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपात खानु पर्छ ।

गर्भावस्थामा काँचो मासु तथा काँचो अण्डा खानु भने हानिकारक हुनसक्छ । त्यसैले मासु र अण्डा राम्रोसँग पकाएर खानुपर्छ ।

गर्भावस्थामा धुम्रपान र मदिरा पदार्थ सेवन गर्नु हुँदैन । अल्कोहलले पनि भर्खर विकास हुदैँ गरेका शिशुको दिमाग लगायतका अंगमा क्षति पु¥याउँछ । यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ ।

हिन्दुहरुको महान चाड बडा दसैँ नजिकिएको छ । दसैँका बेलामा घरमा अरु समयको भन्दा भोजनका लागि मीठो परिकार बन्ने गरेका छन् । दसैँमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम प्रवृत्ति पनि चलि आएको छ । गर्भवती महिलाले दसैँको बेलामा पनि आफ्नो खानपानको तालिका हेरफेर गर्नु हुँदैन । अरु बेलाको भन्दा दसैँको बेलामा घरमा धेरै भोजनहरु सामान्य भएको भएपनि गर्भवती महिलाले भने आफ्नो स्वास्थ्यको बढि ख्याल राख्नु जरुरी हुन्छ ।

सुत्केरी महिलाले खानै पर्ने

सुत्केरीले अवस्थामा स्थानीय खानेकुरालाई बढी जोड दिनुपर्छ । हाम्रो गाउँघरमा पाउने खाद्य समूहहरूबाट कार्बोहाइडे«ड, प्रोटिन, मिनिरल, भिटामिन, फाइबर पाउन सकिन्छ । गाउँघरमा पाउने खाना जस्तैः नफलेको चामल, कोदोको परिकार, फापरको परिकार, मकै जौ, गहुँ, गेडागुडी, माछामासु, सिलाम, तिल, आलस आदि प्रशस्त मात्रामा खानुपर्छ ।

यस्तो बेला पर्याप्त मात्रामा सागसब्जी फाइबरयुक्त खानेकुरा खानामा समावेश गर्नुपर्छ । बदाम, काजु, किसमिस आदि पनि पोषिला खानेकुरा हुन् । दूग्धजन्य परिकार ठिक्क मात्रामा खानुपर्छ । साथै पानी पर्याप्त मात्रामा पिउनुपर्छ । दूध खुवाउने आमाको निमित्त पनि प्रशस्त मात्रामा पानी जरुरी हुन्छ ।

दसैँमा बढी चिल्लो खानेकुराहरु घरमा पाक्ने भएकाले गर्भवती तथा सुत्केरी महिलाहरुले खानपानमा विशेष ध्यान दिनुपर्छ । जसले गर्भमा रहेको शिशू र नवजात शिशूको स्वास्थ्यमा फाइदा पुग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?