दसैँ बजार : सुपथ मूल्यका पसलदेखि कपडा पसलसम्म भीड बढ्दै

लोकपथ
182
Shares

दिनभर काम गरेर एक पेट खान धौ–धौ पर्ने मानिसहरू पनि दसैँलाई हर्षोल्लासका साथ मनाउँछन् । ऋण गरेरै भएपनि किन नहोस् दसैँ रमाइलोसँग मनाउने आमनेपालीको चलन हो ।  त्यसैले दसैँ लाएसँगै घरका ढुलाबढा घरका लागि चाहिने आवश्यक सामग्रोको जुगाड गर्नतिर लाग्छन् । भने बालबालिका पिङ, चङ्गा, नयाँ कपडा, दक्षिणा र मीठो खानेकुराकै ध्याउन्नमा हुन्छन् ।

त्यसो त दसैँ लक्षित सुपथ मूल्य पसलमा यतिबेला मानिसहरुको भीडभाड छ । अरु ठाउँमा भन्दा सुपथ मूल्य पसलमा केही रकम भएपनि कम पर्ने हुँदा मानिसहरु दसैँमा यतातिर मानिसहरुको भीड लाग्छ ।

दसैँलाई लक्षित गरेर खाद्य संस्थानले हरेक वर्ष खसी बोका तथा च्याङग्रा पनि अन्य बजारमा भन्दा प्रतिकेजी १० रूपैयाँ नै किन नहोस् छुटमा विक्री गर्छन् । त्यसैले दसैँ विशेष बजारमा यतिबेला मानिसहरुको भीडभाड छ ।

लत्ताकपडा बजार

दसैँ नजिकिएसँगै लत्ता कपडाको व्यापारले पनि बेग्लै बजार पवाउँछ । फुटपाथका पसलदेखि मल तथा सपिङ सेन्टरसम्मका व्यापारिक पसलहरुमा लत्ताकपडा किन्नेहरुको ठूलै भीड देखिन्छ । यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारीहरू बताउँछन् ।

‘दसैँकै समयमा हो सबैभन्दा धेरै कपडा बिक्ने,’ भृकुटीमण्डपमा कपडा पसल सञ्चालन गर्दै आएकी अम्बिका ढुंगाना भन्छिन्, ‘दशैँको बेलामा त खाजा खाने फूर्सदसमेत हुँदैन ।’

दशैँका लागि उपत्यका छाड्ने सर्वसाधरणहरुले आफ्नो घर परिवारका लागि उपहार लिएर जाने हुनाले पनि लत्ताकपडा पसलहरुमा भीडभाड बढेको ढुंगाना बताउँछिन् ।

दसैँमा सबै भेला भएर माछा मासु खानुको आफ्नै महत्व छ । प्रत्येक बर्ष दसैँमा हजारौँ खसी, बोका, राँगा, च्याँग्रा, कुखुरा काटिन्छन् । त्यसैले दसैँका लागि नेपालका विभिन्न ठाउँसँगै भारतबाट पनि खसी बोका भित्रिन्छन् । भने, स्थानीय स्तरमा उत्पादित खसी बोकासमेत बिक्री वितरण सुरु भइसकेको छ ।

काठमाडौं तारकेश्वर नगरपालिकाकी राममाया तामाङले आफ्नो घरमा पालेको २ वटा खसी बेचिसकेकी छन् । खसी बिक्री गरेर आफ्ना नातीनातिनालाई दसैँका लागि कपडा किनिदिने योजनामा रहेको तामाङ सुनाउँछिन् । ‘के गर्नु दसैँ आयो नया लुगा किनिदिनुपर्छ है भनेका छन्,’ उनले भनिन्, ‘नातीनातिनालाई तिनीहरुलाई खुशी बनाउनै भएपनि खसी बेच्नुपरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?