निर्वाचन कार्यतालिका हेरफेर मुद्दामा आज फैसला

काठमाडौँ, १ कात्तिक – सर्वोच्च अदालतले निर्वाचन कार्यतालिका हेरफेर समेतको माग गर्दैै राष्ट्रिय जनता पार्टी नेपालका सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमा बुधबार आदेश गर्ने भएको छ ।मुद्दाका पक्ष र विपक्षको बहस सुनेपछि न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बुधबारका लागि निर्णय सुनाउने मिति तोकेको खबर गोरखापत्रमा छापिएको छ ।सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले मुद्दामा दुवै पक्षसँगको छलफल सकिएको बताए । प्रवक्ता पन्थीले भने , ‘दुवै पक्षसँगको छलफल सकिएको छ । भोलिका लागि निर्णय सुनाउने मिति तोकिएको छ । ’सर्वोच्चले निवेदकको मागदाबी अनुसार निर्वाचन कार्यतालिका हेरफेर र पुनः मतपत्र छपाइको आदेश गरेमा निर्वाचन तोकिएको समयमा हुने सम्भावना न्यून रहन्छ तर मागदाबी अनुसारको आदेश जारी नगरेको अवस्थामा भने निर्वाचन कार्यतालिका र तयारी अनुसार निर्वाचनको कार्यक्रम अगाडि बढ्नेछ ।असोज २२ गते राजपाका नेता शुक्लाले निर्वाचन कार्यतालिका हेरफेर गरी मनोनयनपछि सार्न र मतपत्रमा अहिलेको व्यवस्था व्यावहारिक नभएको भन्दै नयाँ मतपत्र छपाइको माग गरेका थिए । उनले प्रदेश र प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकका फरक–फरक मतपत्रको व्यवस्था गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?